२०८३ साउन ९ शनिबार

तीन किलो सुनसहित दुईजना पक्राउ, घुस रकमसहित अमिन पनि पक्राउ

ई आर्थिक    बुधबार, असोज १० २०७५
2.9K
Shares
तीन किलो सुनसहित दुईजना पक्राउ, घुस रकमसहित अमिन  पनि पक्राउ

काठमाडौँ, ९ असोज : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो रङ्गको पल्सल मोटरसाइकल सुन ल्याउँदै गरेको अवस्थामा टोखा रोडबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा १२ टुक्रा सुन पेटीभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको जानकारी दिनुभयो । “पक्राउ परेका सुनको मालिक नभएर भरियामात्र भएको अनुसन्धानमा खुल्न आएको छ,”–उहाँले भन्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले दुवैजना रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्ने गरेको र एक किलोग्राम सुन केरुङबाट काठमाडौँ ल्याएको रु ५० हजार पाउने गरेर सुन ओसारपसारमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताउनुभयो । “सुनको मुख्य मालिक पत्ता लगाउन हामी लागेका छौँ,”–उहाँले भन्नुभयो ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घकाअनुसार उक्त सुनको मूल्य रु एक करोड ५० लाख २० हजार ६९९ रहेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ । पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको विगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

घुस रकमसहित अमिन पक्राउ

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा मण्डललाई पक्राउ गरेको जनाएको छ ।

हरिपुर नगरपालिका–८ का सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाइको अंशबण्डाका लागि मण्डलले रु १५ हजार घुस मागेको तर महतो दाजुभाइले मालपोत कार्यालय सेवा केन्द्र हरिवनमै लेखापढीको काम गर्ने रामबहादुर महतोमार्फत रु नौ हजार दिएको शिव नारायण महतोले बताउनुभयो ।

आफू १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि काम नभएपछि अख्तियारमा खबर गरेर घुस दिन बाध्य भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij