पुष्प कोइराला, काठमाडौं । काठमाडौं–निजगढ फास्ट ट्र्याक (एक्सप्रेस वे)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ४ महिनाभित्रै तयार भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडका अनुसार डिपिआर बोलपत्रको ‘सर्ट लिस्ट’मा परेका ६ कम्पनीमध्ये कोरियाली कम्पनी सुसुंगलाई यसका लागि छनोट गरिएको छ । ‘छनोटमा परेको सुसुङलाई २९ भदौमा पत्र पठाइएको छ,’ उनले भने, ‘१३ असोजमा सम्झौता गरी ४ महिनाभित्रमा डिपिआर सक्ने लक्ष्य छ ।’
यसअघि भारतको आइएल एन्ड एफएस कम्पनीले तयार पारेको डिपिआर लिन आवश्यक नदेखिएकाले पनि उनले बताए । हाल आयोजनामा विगतमा भएका सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रारम्भिक डिजाइन, इआईलगायत प्रतिवेदनका आधारमा सेना आफैँले तयार पारेको विस्तृत इन्जिनियरिङ सर्वेक्षण तथा डिजाइनका आधारमा पुल र सुरुङमार्गबाहेकको काम भइरहेको छ । सो डिपिआर तयार पार्न १० करोड १५ लाख लागत अनुमान गरिएको उनले जानकारी दिए । उनका अनुसार आयोजनाको कुल लागत अनुमान भने डिपिआरपछि तय हुन्छ ।
४ वर्षमा निर्माण सम्पन्न
सेनाले २७ साउन ०७४ मा दु्रतमार्ग ४ वर्षभित्र निर्माण पूरा गर्ने गरी संयोजनको जिम्मा पाएको थियो । त्यसपछि सेनाले आयोजनामा एक वर्ष बिताइसकेको छ । ‘समय कम छ, त्यसैले मुख्य काम, सहायक कामहरूसमेत सम्पन्न गर्ने तालिका नै निर्माण गरेर हामीले काम गरिरहेका छौँ, वर्षाबाहेकको सिजनमा रातमा पनि काम भएको थियो,’ उपरथी खाँडले भने, ‘सबै पक्षबाट साथ र सहयोग भए आगामी ३ वर्ष (०७८ भदौ)भित्र नै आयोजना बनाउन सकिन्छ ।’ एसियाली राजमार्गको ‘ए’ स्तरको विशेषता र गुणस्तर कायम गरेर आयोजना चाँडो सक्नुपर्ने भएकाले सबै काम तालिकाभित्र रहेर अघि बढाइरहेको उनले बताए ।
हालसम्मको प्रगति
उपरथी खाँडका अनुसार आयोजना स्थलमा पर्ने २० हजार ३ सय ९ रूखहरूमध्ये १९ हजार ३ सय १९ रुख कटान भइसकेको छ । ६० लाख १७ हजार घनमिटर माटो कटान र ८ लाख ९ हजार घनमिटर पुर्ने काम भएको छ । त्यस्तै ९० प्रतिशतभन्दा बढी जग्गा अधिग्रहण सकेको छ । आयोजनाका लागि निर्माण गर्नुपर्ने १० वटामध्ये ८ वटा क्याम्प निर्माण भएको छ । यसअनुसार आर्थिक वर्ष ०७४/७५ मा शतप्रतिशत भौतिक प्रगति र ९५ प्रतिशत आर्थिक प्रगति भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको १५ अर्ब ३९ करोड बजेटमध्ये हालसम्म ७ प्रतिशत खर्च भइसकेको छ ।
वैकल्पिक सुरुङमार्गको रेखांकन परिवर्तन
एसियाली विकास बैंकले सन् २००८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनका आयोजनाको सुरुङमार्गको रेखांकन परिवर्तन गरिएको छ । नयाँ रेखांकनबारे निर्णय हुन भने बाँकी छ । नयाँ प्रस्ताव गरिएको रेखांकनका आधारमा मार्ग निर्माण गर्दा दूरी छोटिने, समय र इन्धनको बचत हुने दाबी गरिएको छ ।
चालू वर्षभित्रै एक खण्डमा ‘नमुना द्रुतमार्ग’ निर्माण सक्ने
दु्रतमार्गमा समयका कारण दु्रत गतिमै काम गर्नुपर्ने बाध्यता भएको भन्दै सेनाले चालू वर्षभित्र ५४ किलोमिटरमा भू–तल सम्याउने र लेबलिङको काम सक्ने लक्ष्य लिएको छ । त्यस्तै, उच्चस्तरीय प्रविधि प्रयोग गरी भिरालो जमिन सुरक्षाको काम सुरु गर्ने, ठूला तथा अग्ला पुल र सुरुङमार्ग निर्माण गर्न आवश्यक खरिद सम्झौता सक्ने लक्ष्य लिइएको छ । नाला, रिटेनिङ वाल, कल्भर्ट, अन्डरपासलगायत संरचना निर्माण गरिने भएको छ ।
यस्तो हुनेछ सुरुङमार्ग
प्राविधिक उपरथी खाँडका अनुसार ७६.२ किलोमिटर द्रुुतमार्गमा दुईमुखे सुरुङ बनाइनेछ । सुरुङमार्गको कुल लम्बाइ ६.७ किलोमिटर हुनेछ भने पुलको संख्या ८० भन्दा बढी हुनेछ । रूख काटिएका ठाउँ तथा भिराला ठाउँहरू, चार लेन सडकको बीचभागका तथा दायाँबायाँ वृक्षरोपण गर्ने र बायो इन्जिनियरिङ अपनाएर हरियाली कायम गरिनेछ । सकेसम्म भिरालो जमिन कटानलाई कम गर्ने प्रयास गरिएको सेनाले जनाएको छ । आयोजनाको निर्माण सम्पन्न भए निजगढसम्को दूरी एक घन्टाको हुनेछ ।
नयाँ पत्रिकाबाट