२०८३ साउन ९ शनिबार

कांग्रेसलाई महासमितिको रन्को

ई आर्थिक    शुक्रबार, भाद्र ८ २०७५
2.6K
Shares
कांग्रेसलाई महासमितिको रन्को
रमेश सापकोटा, काठमाडौं । कांग्रेसले विधान संशोधन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिमा डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य छन् ।

समितिमा संस्थापन सभापति पक्षका संयोजकसहित मन्सुर, विश्वकर्मा, डिना, उपाध्याय, गुरुङ र लेखक छन् । रिजाल, बडू र जोशी पौडेल समूहका हुन् भने प्रदीप पौडेल सिटौला समूहका हुन् । यसअघि कोइराला समूह निकट भए पनि आनन्द ढुंगानालाई संस्थापन पक्षबाट हालिएको छ ।

सुरुमा नौसदस्यीय समिति गठन गर्ने भनिए पनि समावेशी कोटा मिलाउन र भागबन्डा मिलाउन समितिलाई ११ सदस्यीय बनाइएको हो । ११ सदस्यीय समिति बनाइएपछि नेता रामचन्द्र पौडेल असन्तुष्ट देखिएका छन् । तर, उनको पक्षबाट खस–आर्य समुदायबाट मात्रै नाम आएको भन्दै सभापति शेरबहादुर देउवाले समावेशी कोटाअनुसार दुई सदस्य थपेर ११ सदस्यीय समिति गठन गरेका हुन् ।

 पहिलो बैठक आज बस्दै
सभापति शेरबहादुर देउवाले यसअघि घोषित भदौमै महासमिति बैठक गर्नुपर्ने बताएपछि विधान मस्यौदा समितिको पहिलो बैठक शुक्रबार बिहान ९ बजे बस्दै छ । बैठकले विधान मस्यौदाका लागि कार्ययोजना बनाएर लगत्तै बस्ने केन्द्रीय समितिलाई जानकारी गराउने बुझिएको छ । उनीहरूले विधान मस्यौदाका लागि लाग्ने समय, गर्नुपर्ने प्रक्रिया र समेट्नुपर्ने विषयबारे कार्ययोजना बनाएपछि केन्द्रीय समितिले भदौ मसान्त वा ढिलोमा असोजको दोस्रो हप्तासम्म महासमिति बैठक गर्ने बुझिएको छ ।

 विरोध हुन थालेपछि फर्कियो  देउवाको मनस्थिति
सहमहामन्त्री डा. प्रकाशशरण महतले बाहिरबाट विरोधका स्वर सुनिन थालेपछि अब छिटै महासमिति बैठक गर्ने तयारी भएको बताए । ‘सभापति प्रतिबद्ध हुनुहुन्थ्यो, तर विधान मस्यौदा समिति गठन हुँदा अलि ढिलाइ हुन्छ कि भन्ने थियो,’ उनले भने, ‘तर बैठक नै नगर्ने हुन् कि भन्ने विरोधका स्वर आउन थालेपछि भदौ मसान्त वा केही दिन ढिला भए पनि अब गरिहालौँ भन्नेमा सभापति पुग्नुभएको हो ।’

यसअघि भदौमा महासमिति बैठक गर्ने घोषणा कांग्रेस केन्द्रीय समितिको बैठकले गरेको थियो । तर, भदौमा गर्ने गरी कुनै तयारी नहुँदा बैठकबारे अन्योल थियो । नेता पौडेल, महामन्त्री डा. शशांक कोइरालादेखि अरू नेताले पनि विरोध गर्न थालेपछि देउवाले छिटै महासमिति बैठक गर्ने मनस्थिति बनाएका हुन् । मस्यौदा समितिले प्रस्ताव तयार गर्न लाग्ने समयको रिपोर्टिङपछि केन्द्रीय समितिले महासमिति बैठकको मिति तय गर्नेछ ।

 महासमिति बैठक पोखरामा ?
कांग्रेसको महाधिवेशनपछाडिको सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठक हो । जुन महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्षमा बस्नुपर्ने हुन्छ । तर, १३औँ महाधिवेशन भएको साढे दुई वर्षपछि पहिलोपटक बस्न लागेको हो ।

तीन दिनसम्म चल्ने महासमिति बैठक आयोजना गर्न कास्की कांग्रेसले प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘काठमाडौं वा पोखरामध्ये एक ठाउँमा बैठक बस्छ,’ उनले भने, ‘महासमितिका लागि लाग्ने एक करोड रुपैयाँ खर्च गर्न कास्की कांग्रेसले तयार छौँ भनिरहेको छ । शुक्रबारको बैठकले ठाउँको तय गर्छ ।’ कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकले महासमिति बैठक गर्न मूल आयोजक समिति, आर्थिक, राजनीतिक प्रस्तावसहितका समिति गठन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

कार्यसम्पादन समिति गठनका लागि देउवाले मागे नाम

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न नेता रामचन्द्र पौडेलसँग नाम मागेका छन् । शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा भएको छलफलमा देउवाले पौडेलसँग १० सदस्यको नाम मागेको जानकारी प्रवक्ता शर्माले दिए । २९ सदस्यीय समितिका सात पदाधिकारीसहित २२ सदस्य रहन्छन् ।

नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij