शुरोजंग पाण्डे/वीरेन्द्र ओली, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिसप्रति कतिपय जिल्लामा पूर्वएमालेभित्र असन्तुष्टि देखिएको छ । काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको भन्दै सच्याउन माग गरेका हुन् । यसरी असन्तुष्टि जनाउँदै प्रतिवेदन सच्याउन माग गर्ने अधिकांश जिल्लास्तरीय नेताहरू माधवकुमार नेपालनिकट छन् । केन्द्रीय सचिवालयले ७ भदौभित्र एकीकरण कार्यदललाई प्रतिवेदन बुझाइसक्न निर्देशन दिए पनि प्रदेश १ र २ ले अझै बुझाएका छैनन् ।
काठमाडौंमा छुट्टाछुट्टै सूची, ललितपुरमा असन्तुष्टि
जिल्ला एकीकरण कार्यदलले प्रदेश कार्यदललाई एकपक्षीय प्रतिवेदन बुझाएको भन्दै नेता नेपालनिकट काठमाडौंका नेताहरूले सुरेन्द्र मानन्धरको नेतृत्वमा एक सय ४३ जनाको छुट्टै सूची बुझाएको छ । कार्यदलले काठमाडौं अध्यक्षमा रामशरण ढुंगानाको नाम सिफारिस गरेकोमा एकपक्षीय भएको भन्दै मानन्धर नेतृत्वको समूहले छुट्टै सूची बुझाएको हो । मानन्धरको नेतृत्वमा काठमाडौं जिल्लाअन्तर्गतका केही मेयर, उपमेयरसहित करिब सयजनाको समूहले बिहीबार महासचिव पौडेललाई भेटेर एकीकरणका नाममा एकपक्षीय ढंगले अघि नबढ्न र सबैले न्यायको अनुभूति गर्नेगरी निश्चित विधि र मापदण्डको आधारमा अन्तिम निर्णय गर्न ध्यानाकर्षण गराएको छ ।
मानन्धर समूहले अध्यक्षमा अध्यक्ष केपी ओलीनिकट ढुंगानाको सट्टा सागर नेपाललाई बनाइनुपर्ने प्रस्ताव गरेका छन् । काठमाडौं अध्यक्ष कृष्ण राईले भने पूर्वएमालेको भागमा परेको एक सय ३८ जनाको र बाँकी माओवादीतर्फको सूची समेटर दुई सय २५ जनाको सूची कार्यदललाई बुझाएका थिए । उता, ललितपुरमा कार्यदलले हरिकृष्ण व्यञ्जनकारको नाम पूर्वएमालेको जिल्ला नेतृत्वपंक्तिमा कुनै परामर्श नै नगरी सिफारिस भएको भन्दै नेताहरू माधव पौडेल, मधुसुदन पौडेल, सुशीला नेपाललगायतको समूहले सुरेन्द्रमोहन शर्माको नाम अघि सारेको छ ।
त्यस्तै, सिन्धुपाल्चोकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकपक्षीय ढंगले नाम सिफारिस गरेको भन्दै सरेश नेपाल, होमनारायण श्रेष्ठलगायत अध्यक्ष ओलीनिकट जिल्लास्तरीय नेताहरूले असन्तुष्टि जनाएका छन् ।
प्रदेश ५ मा पनि असन्तुष्टि
प्रदेश ५ को एकीकरण कार्यदलले पार्टी अध्यक्षद्वयको एकीकरणबारे दिएको निर्देशनविपरीत जिल्लाको नेतृत्व सिफारिस गरेको भन्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा उजुरी परेको छ । अर्घाखाँची, पाल्पा, दाङलगायत जिल्ला कमिटी नेतृत्व सिफारिसप्रति असन्तुष्टि आएका छन् ।
प्रदेश सम्पर्क कमिटीमा ४ र ३ को भागबन्डा
प्रदेश सम्पर्क एकीकरणका लागि गठित कार्यदलले सातवटा प्रदेशको भागबन्डा टुंगो लागेको छ । जसअनुसार पूर्वएमालेले प्रदेश नम्बर १, ५, ६ र ७ सहित चार र पूर्वमाओवादीले २, ३ र ४ नम्बर प्रदेशको नेतृत्व लिने समझदारी बनेको छ ।
प्रतिवेदन बुझाउँदै जनवर्गीय संगठन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ जनवर्गीय संगठनले तोकिएको समयभन्दा ढिला गरी प्रतिवेदन बुझाउँदै छन् । सबै जनवर्गीय संगठनले एक दुई दिनभित्रै प्रतिवेदन बुझाउने गरी तयारी अन्तिम चरणमा पु-याएका छन् । टुंगो लगाउन नसकेका जनवर्गीय संगठनको विवाद शीर्ष नेताले मिलाउने भएका छन् । नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियर संगठनको एकता भइसकेको छ ।
मजदुर संगठनको विधान अझै बनेन
नेकपामा मजदुर संगठन सबैभन्दा शक्तिशाली मानिन्छ । मजदुरमा तत्कालीन एमालेभन्दा माओवादी बलियो छ । मजदुरभित्र पनि विभिन्न विधाका उपसंगठन भएकाले ढिलो एकता हुने देखिएको छ ।पत्रकार संगठनको नेतृत्व शीर्ष नेताले टुंगो लगाउने गरी बुझाइएको प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले बताए । नेतृत्वको विषयमा टुंगो लगाउन पार्टी अध्यक्षलाई जिम्मा दिइएको छ ।
किसान संगठनको नेतृत्व टुंगो नलगाई प्रतिवेदन बुझाइयो
किसान जनवर्गीय संगठनले नेतृत्व टुंगो नलगाई प्रतिवेदन बुझाएको छ । संगठनको एक संयोजक, एक सहसंयोजक, नौजना सचिवालय, ९९ जनाको कार्यालय र तीन सय ५० जनाको केन्द्रीय कमिटी हुने भएको छ । संयोजक, सहसंयोजक, केन्द्रीय कार्यालय र सचिवालयमा कुन संगठनको कति हुने भन्ने विषयमा टुंगो लागेको छैन ।
महिला कार्यदलले बनाएका उपसमितिले प्रतिवेदन दिन ढिलाइ गरेकाले समयमै प्रतिवेदन बुझाउन नसकिएको अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले बताइन् । कार्यदल उपसमितिले संगठनको नाम अखिल नेपाल महिला संघ एकीकृत राख्न सुझाब दिएको छ । केन्द्रीय कमिटी करिब पाँच सयजनाको हुनेछ ।
युवा संगठनले अझै प्रतिवेदन बुझाउन सकेको छैन । संगठनको नेतृत्व नाम र झन्डामा सहमति हुन सकेको छैन । गीत–संगीत कला कार्यदलले जनसांस्कृतिक महासंघ नाममा सहमति गरेको कार्यदल सदस्य मणि थापाले बताए । दलित कार्यदलमा तीनजनाले दाबी गरेको कार्यदलका सदस्य तिलक परियारले बताए । परियार, दलजित श्रीपाइली र बमबहादुर विश्वकर्माले दाबी गरेपछि तीनैजनाको नाम कार्यदल प्रतिवेदनमा समेटेर पेस गरिएको छ । बुद्धिजीवी कार्यदलमा नेतृत्वको विषयमा सहमति हुन नसकेपछि प्रा.डा. गणेशमान गुरुङ र डा. दिनेशचन्द्र देवकोटाको नाम सिफारिस गरिएको कार्यदल सदस्य दीनानाथ शर्माले बताए ।
विद्यार्थीमा नेतृत्व अझै टुंगिएन
विद्यार्थी कार्यदलले विद्यार्थीको नेतत्व टुंगो मात्र नलगाई प्रतिवेदन बुझाएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए । दुवै संगठनको झन्डा एउटै भएकाले कुनै विवाद छैन । पूर्वएमाले अखिलबाट उपाध्यक्ष रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली अध्यक्षका मुख्य दाबेदार छन् । अखिल क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्ष सुरेन्द्र बस्नेत दाबेदार छन् ।
नयाँ पत्रिकाबाट