काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा रु. ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
उक्त सम्झौता—पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ । कम्पनीले प्रतिशेयर रु.१००/- दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी रु.२ अर्व १ करोड पुग्ने छ ।
पाँच अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । यस कम्पीको जीवन बीमा कोष रु. १३ अर्ब १३ करोड र कूल लगानी रु १२ अर्ब २९ करोड ९६ लाख रहेको छ । कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।