२०८३ साउन ११ सोमबार

नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ

ई आर्थिक    शनिबार, साउन ५ २०७५
4.8K
Shares
नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ

सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्‍याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्‍याउने सरकारी कार्ययोजना छ ।

पर्शुराम काफ्ले, काठमाडौं, ५ साउन। नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ ।

‘असोजसम्म शेर्पा टोलीमार्फत जिपिएस सिस्टम सगरमाथाको शिखरमा पुर्‍याउने लक्ष्य छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘प्राविधिक टोली सगरमाथा आरोहण गर्ने अवस्थामा हुँदैन, शेर्पाहरूलाई जिपिएस उपकरण पठाएर उचाइ मापन गर्छौँ । त्यतिन्जेल थुप्रै तयारी गर्नुपर्नेछ ।’

असारसम्म सिरहाको मदारस्थित नेपाल–भारत सिमानाबाट सोलु सदरमुकाम सल्लेरीसम्म १७० किमि सीमामा जिपिएस प्रणालीबाट सडक लेभलिङ सर्भे भएको भट्टले बताए ।

आफ्नै खर्चमा नाप्ने
सरकारले पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्न लागेको हो । सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यही आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर भनिँदै आएको छ ।

विज्ञहरूका अनुसार सन् १९८७ मा इटालीको टोलीले जिपिएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टमबाट सगरमाथाको पहिलोपटक मापन गरेको थियो । त्यतिवेला सगरमाथाको उचाइ ८ हजार ८ सय ७२ मिटर मापन भएको थियो । अहिले पनि त्यही प्रणालीका आधारमा नेपालले सगरमाथाको उचाइ मापन गर्न लागेको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij