२०८३ साउन १२ मंगलबार

बाढी-पहिरोले कहाँ कहाँ के गर्‍यो ?

ई आर्थिक    शुक्रबार, असार २९ २०७५
6.4K
Shares
बाढी-पहिरोले कहाँ कहाँ के गर्‍यो ?
काभ्रेमा बाढीले लियो एकको ज्यान, सडकमा जताततै पहिरो

बुधबार रातिदेखिको निरन्तरको वर्षाले काभ्रेमा जताततै पहिरो गएको छ । सडकहरू भासिँदा तथा माथिबाट आएको पहिरोले पुरिँदा बिहीबार दिनभर यातायात आवागमन अवरुद्ध भयो । अरनिको र बिपी राजमार्गदेखि बेथानचोक, कोसीपारि र डाँडापारिलगायत ग्रामीण क्षेत्रका सडक अस्तव्यस्त बने । काठमाडौं–बनेपा यातायात बिहीबार दिनभर अवरुद्ध भयो । पुलबजारमा पार्किङ गरेर राखेका सवारीसाधन डुबे । पूर्णमाता खोलामा आएको बाढीका कारण पुलबजार डुबेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनीलजंग शाहले बताए ।

स्थानीय खोलाहरूमा आएको बाढी बस्तीतिर छिर्दा बनेपा र पानौतीका घरहरू डुबानमा परे । बनेपा बर्सेनि डुबानमा पर्दै आएका छ । बिहीबार बनेपाको धनेश्वर जाने पुल क्षेत्र र धुलिखेल जाने तरकारी बजार डुबानमा परे । खोला अतिक्रमण भएका कारण हरेक वर्ष डुबान बढेको बनेपाका स्थानीय राजेन्द्र श्रेष्ठ बताउँछन् ।

पाँचखालमा एकजना बगायो, पनौती र रोसीमा  पहिरोमा परे तीन घर
पाँचखाल नगरपालिका माझिगु खोलाले बगाउँदा ६५ वर्षीया डोरना कुँवरको मृत्यु भएको छ । बाढी र पहिरोका कारण उक्त क्षेत्रमा भौतिक क्षतिसमेत भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

यता, पतौती र रोसीमा तीन घर पहिरोले बगाएको छ । पनौती नगरपालिका–२ मा तोरण तिमल्सिना र सरिता दाहाल तथा रोसी गाउँपालिका–८ मा देवबहादुर मल्लको घर पहिरोले बगाएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । पनौती–३ कुशादेवीमा पहिरोले विदुर सापकोटाको गोठ भत्किँदा एउटा भैँसी, तीनवटा गाई र दुईवटा खसी मरेका छन् ।

अवरुद्ध अरनिको राजमार्ग  खुल्यो, अन्त उस्तै बिजोग
डुबान र पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । तर, बिपी राजमार्गको तीन–चार ठाउँमा अझै अवरोध छ । ठाउँ–ठाउँमा सडक भासिएर तथा कतिपय ठाउँमा माथिबाट झरेको ढिस्कोले सडक अवरुद्ध भएको हो । काभ्रेभञ्ज्याङ, मंगलटार, बेथानचोकलगायत ठाउँमा सडक अवरुद्ध रहेको जल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

रोसी खोलाको टापुमा दुईजना १७ घन्टासम्म फसे
नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोसीखोलामा बुधबार साँझदेखि फसेका दुईजनालाई बिहीबार मध्याह्न १२ बजेतिर मात्रै उद्धार गरियो । डिपबोरिङको काम गर्न गएका मजदुर नमोबुद्धकै नारायणगोपाल श्रेष्ठ र धुलिखेलका कान्छा लामा दुईवटा भँगालो बनेर गएको खोलाको बीचमा फसेका थिए । साँझ ७ बजेतिर उनीहरू टापुमै रहँदा एक्कासि खोलामा बाढी आएपछि उनीहरू भँगालो तरेर निस्किन सकेनन् । बिहीबार सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरियो ।

नुवाकोट : डुबेर एक बालकको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ । विदुर नगरपालिका–५ माझिमटारमा बर्खाको पानी जमेको खाल्डोमा डुबेर राजेश तिमिल्सिनाका छोरा दुई वर्षीय रञ्जितको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्तुबहादुर कुँवरले बताए । दाइसँग बाख्रा गोठालो गएका उनी खेल्दै गर्दा खाल्डोको पानीमा डुबेका थिए । केहीबेरमै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनायो ।

मोरङ : राहत र उद्धारमा प्रशासन अलर्ट

बाढीपहिरो प्रकोप न्यूनीकरण र पीडितहरूको उद्धार तथा राहत वितरणका लागि पूर्वतयारी रहेको मोरङ प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायका अनुसार वर्षायाममा मनसुनको प्रकोपबाट हुन सक्ने बाढी तथा पहिरोजन्य जोखिम न्यूनीकरण र उद्धारका लागि सबै सरोकारवाला निकाय तयारी अवस्थामा रहेको बताए । १५ दिनअघि मात्रै मनसुन पूर्वतयारी तथा विपत् कार्ययोजना बनाइएको हो ।

‘कार्ययोजनाअनुसार सरोकारवाला निकायहरू प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिका तथा विभिन्न सेवा कार्यालयसँग समन्वय गरी सूचना अदानप्रदान गर्ने, खोजतलास तथा उद्धारमा खटिने भन्ने छ,’ प्रजिअ आचार्यले भने, ‘विपत्मा परेकाहरूको आवास तथा खाद्य सामग्रीको व्यवस्था मिलाउने, स्वास्थ्य, खानेपानी र सरसफाइमा ध्यान दिनेदेखि महिला र बालबालिकाको विशेष सुरक्षामा चासो दिइनेछ ।’ उनले कुन–कुन बस्तीमा जोखिम हुन सक्छ भन्ने अनुगमन भइसकेको पनि बताए ।

मोरङमा वर्षायाममा खोलामा बाढी आउने र खेत कटान भएर गाउँबस्ती जोखिममा पर्ने गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार जिल्लामा गत साउन अन्तिम साता आएको बाढीले १६ जनाको ज्यान लिएको थियो । पाँचजना बेपत्ता भएका थिए । ११ हजार ५ सय परिवार पूर्ण विस्थापित भएका थिए ।

कर्णाली : झन्डै चार सय सुरक्षाकर्मी र हेलिकोप्टर तयारी अवस्थामा
मुलुकभर बाढी, पहिरो र डुबानको जोखिम बढेसँगै कर्णाली प्रदेश सरकारले पनि पूर्वसतर्कता अपनाएको जनाएको छ । वर्षापछि हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुन सक्ने क्षति कम गर्न तथा तत्काल उद्धार तथा राहतका लागि आवश्यक तयारी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले बताए ।

सडक अवरुद्ध : बुधबार बेलुकादेखि निरन्तर परिरहेको बर्षाको कारण काभ्रेपलाञ्चोकको बनेपाको पुल बजारस्थित पुण्यमाता खोलामा आएको बाढीले बनेपा बजार डुवानमा परेपछि अवरुद्ध भएको अरनिको राजमार्ग ।

सरकारले प्रदेशका सबै स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमार्फत सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । उद्धार र राहतका लागि सरकारी टोली तयारी अवस्थामा राखेको जनाएको छ । सेनाको हेलिकोप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको आचार्यले बताए । उद्धारमा खटिन नेपाली सेनाका झन्डै दुई सय, नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका १ सय ५० जनाको छुट्टै टोली तयारी अवस्थामा छ । यस्तै १० वटै जिल्ला प्रहरी कार्यालयबाट दैनिक मौसमको अवस्थाबारे जानकारी संकलन भइरहेको छ ।

जनकपुर : राहत बाँड्दै प्रदेश २ सरकार

प्रदेश २ का सरकारले बाढीपीडितलाई राहत वित्तरण गर्ने तयारी थालेको छ । केही दिनको अविरल वर्षासँगै आएको बाढीपहिरोमा मृत्यु भएका परिवारका सदस्यलाई तत्काल पाँच हजार रकम उपलब्ध गराउने प्रदेश सरकारले घोषणा गरेको थियो । ‘अहिलेसम्म पर्सा जिल्लाबाट बाढीपहिरोमा मृत्यु भएकाको आफन्तको निवेदन परेको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव हरि फुँयालले भने, ‘उहाँहरूलाई आइतबारसम्म रकम उपलब्ध गराइन्छ ।’ केही हप्ताअघि अविरल वर्षसँगै प्रदेश २ का केही जिल्ला बाढी र पहिरोबाट प्रभावित भएका थिए । केहीको ज्यानसमेत गएको थियो ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij