२०८३ साउन ९ शनिबार

रेलमार्ग निर्माणमा भारतको प्राविधिक सहयोग लिइने

ई आर्थिक    बिहिबार, असार २८ २०७५
3.1K
Shares
रेलमार्ग निर्माणमा भारतको प्राविधिक सहयोग लिइने

काठमाडौँ : भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच भएको छलफलले प्राविधिक सहयोगको व्यवस्था गर्न दुवै देशका सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।

छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । दुई दिनसम्म भएको छलफलमा जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसै वर्ष कात्तिकमा पूरा हुने भएकाले प्राविधिक जाँच गरी पुसदेखि नै रेल सञ्चालन गर्ने विषयमा वार्ता भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगन्ज र भैरहवासम्म सामान ढुवानी गर्ने रेल ल्याउने विषयमा छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरु सहभागी हुनुभएको थियो । नेपालसँग ब्रोडगेजमा रेल चलाएको अनुभव नभएकाले एक वर्ष भारतीय कम्पनीको रेल लिजमा चलाई नेपालीलाई प्राविधिक ज्ञान हुने गरी तालीम दिने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

विभागसँग रेल खरीदका लागि रु ५० करोड बजेट भए पनि प्रक्रिया पु¥याएर खरीद गर्दा एक वर्ष समय लाग्छ । त्यतिन्जेल लिजमा लिएर ३५ किमीमा रेल चलाउने विभागले जनाएको छ । यसका लागि छलफलका निष्कर्ष सरकारलाई दिई प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेको जनकपुर–जयनगर र जोगवनी–विराटनगर रेल आयोजनामा आइपरेका समस्याका बारेमा पनि बैठकमा छलफल भएकाले समाधानका लागि सहयोग पुग्ने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij