२०८३ साउन १० आइतबार

नागढुंगाबाट ६ किलोग्राम सुनसहित एक पक्राउ, सुन भारत लैजाँदै गर्दा पक्राउ परेका पाँच सार्वजनिक

ई आर्थिक    सोमबार, असार १८ २०७५
2.4K
Shares
नागढुंगाबाट ६ किलोग्राम सुनसहित एक पक्राउ, सुन भारत लैजाँदै गर्दा पक्राउ परेका पाँच सार्वजनिक

काठमाडौँ, १७ असार : महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा आज बेलुका ७ बजे एकजनालाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताउनुभयो । प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ ।

सुन तस्करीमा संलग्न पाँच जनालाई सार्वजनिक

महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई आज सार्वजनिक गरेको छ । परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।

सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई प्रहरीले सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कारको अगाडिको इन्जिनको माथि राखेको एयर फिल्टर बक्सभित्र तीनवटा बिस्कुट आकारको सुन लुकाएर भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । शुरुमा सवारी चालक दीपककुमार र कञ्चनपुरका मनोजलाई पक्राउ गरिएको हो । उनीहरुको बयानको आधारमा अन्यलाई पक्राउ गरिएको हो ।

पोखरेलका अनुसार असार १४ गते अशोक, चन्द्रमोहन र सन्जना धनगढी विमानस्थलबाट काठमाडौँ आएका थिए । दीपक र मनोज भारतीय नम्बर प्लेटको कार चढेर काठमाडौँ आएर जमलस्थित ‘एलो प्यागोडा’ होटलमा बसेका थिए । उनीहरु सुन तस्करीको योजना बनाएर भारत लैजाँदै गर्दा पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट कार र तीन किलोग्राम सुन बरामद गरेको छ ।

भन्सार ऐन, २०६४ को दफा ५७ (१) (ङ) अनुसार बिगोसहित एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij