वीरगञ्ज, ८ असार : राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ ।
मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताउनुभयो । उहाँलाई हाल नख्खु जेलमा राखिएको छ ।
दुई सातायता, राजश्व विभागले थालेको मरिच तस्करी काण्डको प्राम्भिक अनुसन्धानमा अग्रवाल दोषी पाइएपछि विभागले उनीसँग हिजो साँझ ५ बजे धरौटीको रकम रु तीन करोड ७६ लाख ८० हजारसहित विभागमा हाजिर हुन बोलाएको थियो । तर धरौटीवापतको रकम बुझाउन नसक्दा उहाँलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
करीब एक वर्षदेखि वीरगञ्जसहित आसपासको जिल्ला नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महँगो दाममा बेच्न वीरगञ्जका व्यापारी सक्रिय थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमै एक ट्रक मरिच भारत पठाउन लाग्दा पर्सा प्रहरीले १२ टन दुई सय किलो मरिच बरामद गर्दै चालक र ट्रकलाई कारबाही गरेको थियो ।
सोही घटनालाई पछ्याउँदै जाँदा अनुसन्धान विभागले व्यापारी अग्रवालसम्म पुगेको स्रोतको भनाइ छ । एक साताअघि मरिच तस्करीको घटना वीरगञ्जबाट बढ्न थालेपछि निर्देशक ध्रुव पोखरेलको टोलीले वीरगञ्जको दुई वटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र नियन्त्रणमा लिँदै अनुसन्धनलाई तीव्र बनाएको थियो ।
पक्राउ परेका अग्रवालको छाला उद्योग ग्लोबल लेदर ट्रेनिग इण्डष्ट्रिज प्राली लिपनीबिर्ता र निजका कान्छा भाइ एवं वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पाटवारीको फर्म साम इन्टरनेशनलमा छापा हानेर अनुसन्धान गर्दा अग्रवाल दोषी पाइएको विभागले जनाएको छ ।
अनुसन्धानकै क्रमा विभागको पत्रका आधारमा वीरगञ्जबाट दुईजना भन्सार क्लियरिङ एजेण्ट वीरेन्द्र गुप्ता तथा दिलीप श्रीवास्तव पनि पक्राउ परेका छन् ।
वीरगञ्जबाट छाला लिएर कानपुर हिँडेको युपी ७८ बिटी ३८०४ नं को भारतीय ट्रकमा जेठ २१ गते १२ टन दुई सय किलो मरिच बरामद भएको हो । अनुसन्धानबाट भाइ अनिल पाटवारी विदेशबाट सुख्खा बन्दरगाहको बाटो भएर ठूलो परिमाणमा मरिच मगाउने र दाइ सञ्जय छाला भनेर ट्रकबाट मुख्य नाका रुटमा भन्सार कर्मचारीलाई मिलाएर विगत लामो समयदेखि मरिच तस्करी गर्दै आएकाले विभागाले पौने चार करोडको धरौटी माग गरेको हो ।
करोडौँ रुपैयाँ लिएर व्यापारी मुकेश शाह तेली फरार
यसैबीच बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेलीलाई पर्सा प्रहरीले खोजी कार्य तीब्र बनाएको छ ।
मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन् ।
मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बंैकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु तीन करोड गरी रु चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ ।
ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।