२०८३ साउन १० आइतबार

नेकपाको स्थायी समिति टुंगो लाग्यो

ई आर्थिक    बिहिबार, जेष्ठ १७ २०७५
3.2K
Shares
नेकपाको स्थायी समिति टुंगो लाग्यो
काठमाडौँ । नेकपाले स्थायी समिति र संसदीय दलका पदाधिकारीको नाम टुंगो लगाएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले पक्षबाट २६ र माओवादी पक्षबाट १९ जना तय भएअनुसार नेताहरूको नाम टुंगो लागेको हो ।

एमाले पक्षले यसअघि नै स्थायी समितिमा रहेका २२ सहित थप चार जनालाई राखेको छ । रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठ थपिएका हुन् । चारै जना नवौं महाधिवेशनमा पदाधिकारीमा पराजित भएका थिए । स्थायी समितिमा रहेका यसअघिकै २२ जनामा अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, भीम आचार्य, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल छन् ।

त्यस्तै तत्कालीन माओवादीबाट अध्यक्ष पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मातृकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल र मणि थापा छन् । यसअघि दुवै दलका निर्वाचन, अनुशासन र लेखा आयोग अध्यक्षलाई स्थायी समितिको आमन्त्रित सदस्यका रूपमा राखिएको छ । आमन्त्रित सदस्यमा अमृत बोहोरा, अमिक शेरचन, पुष्प कँडेल, सोमनाथ प्यासी, केशव बडाल र पेशल खतिवडा छन् । नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ । त्यसमध्ये नौ जनाको सचिवालय छ । पोलिटब्युरो भने चयन हुन बाँकी छ ।
नेम्बाङ उपनेता, गुरुङ प्रमुख सचेतक
नेकपा संसदीय दल बैठकले बुधबार उपनेतामा सुवास नेम्बाङ, प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ । नेम्बाङ र चौधरी तत्कालीन एमालेका उपनेता र सचेतक थिए भने गुरुङ तत्कालीन माओवादीको प्रमुख सचेतक थिए ।
नेकपा संसदीय दलको नेतामा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसअघि नै चयन भइसकेका छन् । राष्ट्रिय सभामा भने दीनानाथ शर्मालाई दलको नेता चयन गरिएको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij