काठमाडौँ, १६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।
काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।
बैठकको निर्णयबारे जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाँणले यसले अन्तर्राष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई अभिप्रेरित गर्न नसक्ने बताउनुभयो । “उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा नयाँ रोजगारी खुल्ने देखिएन”, उहाँले भन्नुभयो ।
कृषि र उत्पादनशील क्षेत्रमा पाँच वर्षमा शतप्रतिशत वृद्धि गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त क्षेत्रमा लगानी अपर्याप्त भएको उल्लेख गर्दै मुख्य सचेतक खाँणले बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको टिप्पणी भएको उल्लेख गर्नुभयो ।
पर्यटनका सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको भन्दै पार्टीले आमनेपाली जनताको अपेक्षाअनुसार आर्थिक समृद्धि हुने आशा विपरीत बजेट आएको भनी टिप्पणी गरेको छ ।
निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले नियन्त्रित अर्थतन्त्रतर्फ सरकार अभिप्रेरित भएको काँग्रेसको शंका छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्नुभएको थियो ।
बलियो सरकारले ल्याएको कमजोर बजेट : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लगायतका महत्वाकाङ्क्षी विषय बजेटमा उल्लेख गरिएकाले कार्यान्वयनमा समस्या रहेको हुँदा बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बैठकले ठहर गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकता तथा सहकार्यका लागि प्रारम्भिक छलफल, सम्पर्क र समन्वय गर्नका लागि पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देनलाई जिम्मेवारी प्रदान गरेको छ । सक्रिय सदस्य वितरण निर्देशिका मस्यौदा तयार गर्नका लागि महामन्त्री लिङ्देनको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले पार्टीको विभाग र समिति गठन तथा पुनः गठन गर्नका लागि उपयुक्त नामावली सिफारिश गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा समिति गठन गरेको छ ।
पार्टीद्वारा सञ्चालन गरिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, छुवाछूतविरुद्ध राष्ट्रिय अभियान र भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियानको बृहत् कार्यक्रमको निर्माण गर्न पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति, परम्परा जस्ता विषय संरक्षणका लागि केन्द्रीय सदस्य कान्ता भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ ।
बैठकले सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्वसहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाइप्रति दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको विगतको फैसला र सर्वोच्चमै विचाराधीन रहेको अवस्थामा उक्त रिहाइ हुनुले कानूनी राज्यको उपहास भएको ठहर गरेको छ । ढुंगेललाई सशस्त्र द्वन्द्वकालमा कर्तव्य ज्यान मुद्दाको अभियोगमा करीब सात महिनादेखि जेलमा राखिएकामा मंगलबार रिहाइ गरिएको थियो ।