२०८३ साउन ९ शनिबार

केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न, सम्भाव्यताको प्रतिवेदन निर्माण गर्ने

ई आर्थिक    सोमबार, जेष्ठ १४ २०७५
3K
Shares
केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न, सम्भाव्यताको प्रतिवेदन निर्माण गर्ने

नुवाकोट, १४ जेठ : चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

“काठमाडौँबाट शुरु भएको अध्ययन केरुङसम्म पुगेर फर्किएका छौँ ।” विभागका सूचना अधिकारीसमेत रहनुभएका उपाध्यायले भन्नुभयो, “प्राविधिक टोलीले एक साताको अवधिमा पूर्वसम्भाव्यता अध्ययन पूरा गरेको छ ।”

उहाँका अनुसार विभागका महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा रहेको टोलीले चीनबाट नेपालमा ल्याउने रेलमार्गको सम्भाव्यता अध्ययनका क्रममा काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता के हुन्छ भनेर अब प्रतिवेदन निर्माण गर्नेछ ।

“आगामी असोजसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन चिनियाँ पक्षले बुझाउने तयारी भएकाले अहिलेको पूर्वसम्भाव्यता अध्ययनलाई महत्वका साथ लिइएको छ”, उपाध्यायले भन्नुभयो ।

गएको वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीसहितको उच्चस्तरीय सरकारी अधिकारी टोली रेलमार्ग निर्माणसम्बन्धी अध्ययन गर्न चीन पुगेको थियो । त्यस समयमा भएको सहमतिअनुसार चिनियाँ प्राविधिक टोलीले जेठ पहिलो साता नेपालमा आएर स्थलगत अध्ययन गरेको हो ।

यसअघि चिनियाँ रेल प्रशासनको उच्चस्तरीय टोलीले केरुङ–काठमाडौँं र काठमाडौंँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यताको अध्ययन गरेको थियो । त्यो अध्ययनमा केरुङबाट रसुवागढी–त्रिशूली–काठमाडाँैसम्म रेल सञ्चालन सहज रहेको संकेत दिएको थियो । काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने र अर्को लुम्बिनी लैजाने रेलमार्गको विस्तार गर्न भने ‘केही कठिनाइ’ देखाएको थियो ।

नेपाल सरकारले गत सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने विषय समावेश गरेकाले यहाँ चिनियाँ रेल भित्रने संकेतका आधार बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij