संघीय संसदको दुवै सदनको संयुक्त वैठकमा भण्डारीले वाचन गरेको कार्यक्रममा कृषि, विकास निर्माणका योजना, आर्थिक बृद्धिदर, उद्योग स्थापना, सडक निर्माण लगायतका कार्यक्रम तथा नीति समावेश छ ।
पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिक र ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ । त्यसै गरी प्रमुख कृषि उपज, पशुपन्छीजन्य तथा मुत्स्य उत्पादनमा आत्मनिर्भर हुने नीति अवलम्वन गरिने समेत उल्लेख छ । सरकारले पाँच वर्ष भित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ।
सरकारको दिर्घकालीन उद्देश्यमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको समेत प्रस्तुत कार्यक्रममा उल्लेख छ । त्यसै गरी महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाइवेका रुपमा विकास गरिने समेत भण्डारीले कार्यक्रम प्रस्तुत गरेकीछन् ।एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।