सुन र गोरे खोज्दै प्रहरी
सजाय छुटको सिफारिस रद्द
विनाेद भण्डारी, माधव घिमिरे, जेष्ठ १, २०७५, विराटनगर — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष जिज्ञासा राखेका छन्– तस्करी भएको भनिएको सुन खोइ ?
इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस गरेका प्रतिवादीका कानुन व्यवसायीले अभियुक्तबाट बरामद गरिएका रजिस्टरलगायत कागजात प्रमाणित हुने आधार नभएको तर्क गरे । यसअघि आइतबार बहस गर्ने वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले पनि यस्तै तर्क राखेका थिए । प्रतिवादीतर्फको बहस शुक्रबारसम्म चल्ने अदालत स्रोतले जनाएको छ । आइतबार इजलासबाट ‘थुनछेक आदेश’ आउनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढीले बहस गर्नका लागि वकालतनामा दर्ता गराएका छन् ।अभियुक्तका तर्फबाट सोमबार बहस गर्दै वरिष्ठ अधिवक्ताहरू माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठसहित १० जनाले अदालतसमक्ष यस्तो जिज्ञासा राखेका हुन् । उनीहरूले अघिल्ला कानुन व्यवसायीले इजलाससमक्ष राखेकै तर्क दोहोर्याएका थिए । सुन नै नभेटिएकाले यही आधारमा अभियोग लगाउन नहुने उनीहरूले तर्क गरे । यो मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै उनीहरूले अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।
निलम्बित डीएसपी प्रजित केसीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठ, आचार्य र भट्टराईले प्रहरीको माथिल्लो निकायको मौखिक र लिखित आदेश पालना गर्दै काठमाडौंबाट सुनसरी आएर मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पक्राउ गर्न सफल भएको बताएका थिए । ‘अभियुक्तहरूलाई मुद्दा मिलाइदिने भन्दै प्रलोभन देखाएर नाटकीय रूपमा पक्राउ गरी अनुसन्धानमा सघाएका उनीहरू कसरी दोषी हुन सक्छन्’, उनीहरूले इजलासमा भने ।
दुई नयाँ अभियुक्तलाई म्याद थप
यसैबीच काठमाडौंमा पक्राउ गरी मोरङ पठाइएका दुई अभियुक्तलाई पाँच दिनको म्याद थप गरी प्रहरी नियन्त्रणमा राखिएको छ । संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको विशेष समितिको निर्देशनमा प्रहरीले दोलखा घर भएका मुक्तिराम श्रेष्ठ र झापाको दमकस्थित सिद्धिकाली मनी ट्रान्सफरका सञ्चालक विनोद अधिकारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सुन तस्करी र हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग आर्थिक कारोबार देखिएको भनिएका उनीहरू दुवै हुन्डी कारोबारी भएको जनाइएको छ ।
सुन र गोरे खोज्दै प्रहरी
यो प्रकरण अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठित गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वको विशेष समितिले तस्करी भएको भनिएको सुन र फरार मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहितको खोजी तीव्र बनाएको छ । ‘हाम्रो मिसन नै गोरे र सुन फेला पार्नु हो’, समितिमा आबद्ध एक उच्च प्रहरी अधिकृतले भने, ‘समितिको म्याद जेठ ५ सम्म छ, त्यस अवधिमा धेरै कुरा पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ सूक्ष्म रूपले निचोडमा पुग्न समय लाग्ने भएकाले अनुसन्धानका लागि म्याद थप हुने सम्भावना रहेको बताए । सबै संयन्त्र परिचालन गरी सुन र फरार अभियुक्तहरूको खोजी भइरहेको भन्दै ती सदस्यले चाँडै निचोडमा पुग्ने दाबी गरे । अभियुक्तहरू भारत प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अनुसन्धान गरिरहेको समितिका सदस्यले बताएका छन् ।
सजाय छुटको सिफारिस रद्द
यो मुद्दाका ६३ प्रतिवादीमध्ये अनुसन्धानमा सघाएको भन्दै सम्बिर तिलांगे र विष्णुबहादुर खड्काले पाउने सजायमा ५० प्रतिशत छुट दिने भनिएकामा अब नपाउने भएका छन् । प्रहरी अनुसन्धान क्रममा दिएको बयानअनुसारै अदालतसमक्ष बयान दिने र अनुसन्धानमा सघाउने भनेपछि उनीहरूले पाउने सजायमा छुट गरिपाउन जिल्ला अदालतमा न्यायाधिवक्ताको कार्यालयले सिफारिस गरेको थियो । तर अभियुक्तहरूले अदालतमा बयान फेरेपछि उनीहरूलाई गरिएको सजाय छुटको सिफारिस रद्द गरिएको हो । मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार बयान फेरेपछि सजाय छुटको सिफारिस रद्द गर्दै कानुनअनुसार पूरै सजाय गरिपाउन भन्दै ‘पुन: अभियोजन’ को निवेदन अदालतसमक्ष दिइएको छ ।
तिलांगेलाई कर्तव्य ज्यान महलको १३ (४) अनुसार ज्यान मार्न उक्साएको आरोपसँगै ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ तथा खड्कालाई संगठित आपराधिक समूहको सदस्य भई सुन ओसारपसारमा संलग्न भएको आरोप छ ।
सुन तस्करीमा हुन्डीको कनेक्सन
जनकराज सापकोटा, काठमाडौँ — संगठित सुन तस्करीबारे अनुसन्धानरत विशेष समितिले दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौंबाट मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धिकाली मनी ट्रान्सफर चलाएर बसेका विनोद अधिकारीलाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार पक्राउ परेका दुवैसँग गोरेको निरन्तर फोन सम्पर्क भएको देखिन्छ । दुबईबाट प्राप्त सूचनाका आधारमा उनीहरूले हुन्डीको कारोबार गर्ने गरेको र उनीहरूकै सहयोगमा गोरेले संगठित तस्करी गरेको निष्कर्ष समितिले निकालेको छ । त्यसो त समितिले यसअघि नै संगठित सुन तस्करीमा हुन्डी कारोबारीको कनेक्सन रहेको निष्कर्ष निकालेको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको सुन तस्करीका मुख्य व्यवस्थापक भनिएका चूडामणि उप्रेती (गोरे) सँग यी दुईको आर्थिक कारोबार देखिएको समितिका एक सदस्यले बताए । स्रोतका अनुसार संगठित सुन तस्करीमा हुन्डीका कारोबारीले सघाउ पुर्याइरहेको समितिको निष्कर्ष छ । हुन्डी कारोबारीले दुबईमा कार्यरत नेपाली कामदारले घर पठाउन लागेको कामदारहरूको विदेशी मुद्रा उतै जम्मा पार्छन् र कारोबारीका नेपालस्थित सदस्यले उता जम्मा गरे बराबरको रकम यता भुक्तानी गर्छन् । यसरी दुबईमा जम्मा भएको रकम सुन किन्न प्रयोग हुने गरेको समितिका सदस्यहरूको बुझाइ छ ।
विशेष समितिले सरकारी वकिलको कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा पेस गरेको प्रतिवेदनमा छ, ‘राष्ट्रसेवक बाहेकका प्रतिवादीहरूले सुनको अवैध कारोबार गर्ने क्रममा हुन्डी तथा अवैध विदेशी विनिमयसमेतको कसुर गरेको भन्ने खुलेको हुँदा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकलाई अभियोगपत्र संलग्न राखी लेखिपठाउने निर्णय भएको छ ।’
सुन तस्करीमा हुन्डी कारोबारीहरूको कनेक्सन भेटिएको यो पहिलो घटना भने होइन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७४ भदौ १५ गते टोखास्थित पेम्बा दोर्जे शेर्पाको कोठाबाट १४ किलो र जनकपुरबाट एक केजी सुन बरामद गरेको थियो । संगठित सुन तस्करीको यो घटनामा प्रहरीले न्युरोड क्षेत्रमा बसेर हुन्डी र सुनको कारोबार गर्ने सुन्दर खडका, कृष्ण खडका र रमेश खडकालाई समेत प्रतिवादी बनाएको थियो । विमानस्थलको भन्सार हुँदै बाहिरिएको साढे ३३ केजी अवैध सुन बरामदको घटनामा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित सुन तस्करीमा हुन्डी कारोबारीहरूको कनेक्सन रहेको निष्कर्ष निकालेको थियो । उक्त सुन तस्करीमा प्रतिवादी बनाइएकामध्ये एक जनाको दुइटासम्म मनी ट्रान्सफर रहेको र त्यसैमार्फत हुन्डीको कारोबारसमेत हुने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
हुन्डीको सूचना प्रहरीलाई दिन्थे गोरे
गोरेले बेलाबखत हुन्डी कारोबारीको सूचनासमेत प्रहरीलाई दिने गरेको खुलेको छ । समितिले लिएको बयानमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेलले आफूहरूलाई एक पटक हुन्डी कारोबारको सूचना गोरेले दिएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘चूडामणि उप्रतीले सई गजेन्द्र रावललाई फोन गरेर हुन्डी कारोबारको सूचना दिएछ, उसले नक्सालस्थित एक घर देखाएर गयो, सोहीअनुसार अप्रेसनका लागि तयारी भएर बस्यौं । पैसा लिएर आउने मान्छेहरू उक्त घरमा नआएपछि काम भएन, सोहीअनुसार गोरेलाई काम भएन भनेर सोध्दा ठिकै छ, म फेरि अर्को सूचना दिन्छु भन्यो ।’
कान्तिपुरबाट