काठमाडौँ — यो साता सेयर बजारको आकार करिब ६ अर्ब रुपैयाँले खुम्चिएको छ । उक्त अवधिमा समग्र नेप्से परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि खुम्चिएको हो ।
साताको पहिलो दिन (आइतबार) १५ खर्ब ८८ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार घटेर १५ खर्ब ८२ अर्ब रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको सूचीकृत सेयर संख्यालाई बजार मूल्यले भाग गरेर पुँजीकरण निकालिन्छ । यो सूचकले बजारमा कम्पनीको हिस्सा वा अवस्था पनि जनाउँछ । हाल बजार घटिरहेकाले कुल बजार पुँजीकरण पनि घटेको हो । यो साता नेप्से परिसूचक पहिलो करिब १८ अंकले घट्यो ।
साताको पहिलो दिनको तुलनामा यस्तो परिसूचक ५.१९ अंकले मात्र घटेको देखिन्छ । आग्तबार १ हजार ३ सय ५३.६४ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार ३ सय ४८.३५ विन्दुमा झरेको हो ।
साताभर २९ हजार ३ सय १९ वटा कारोबारबाट १ सय ८१ कम्पनीका ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचबाट करिब २ अर्ब २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७.७६ प्रतिशतले बढी हो ।
गत साता १८ हजार ४ सय ८३ वटा कारोबारमा ३२ लाख ४४ हजार ५ सय कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५६ करोड रुपैयाँ परिचालन भएको थियो ।
नेप्सेको वर्गिकरणमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक यो साता ३.७ अंकले बढ्यो । सोही अवधिमा व्यापारमा रहेका सबै कम्पनीहरुको कारोबार मापक फ्लोट परिसूचक फ्लोट परिसूचक १.२१ अंकले ओरालो लागे ।
साप्ताहिक कारोबार सबै समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । करोबारमा आएका सबै समूहको परिसूचक घटेपछि सबै सेयरधनीका सम्पत्तिमा गिरावट आएको हो ।
उक्त अवधिमा बिमा र होटल समूहका लगानीकर्ताको सम्पत्ति क्रमश: ८७ र ७१ अंकले घटे । यसैगरी, बैकिङ समूहका लगानीकर्ताको सम्पत्ति १३.३५, विकास बैंकको २३.४६, जलविद्युत ३७.७१, वित्त कम्पनी ९.०२, उत्पादन तथा प्रशोधन २६.४६ र ‘अन्य’ समूहको परिसूचक १२.५८ अंकले घटेको नेप्सेले जनाएको छ ।
यो साता कारोबार रकम (१२ करोड ७३ लाख ४० हजार रुपैयाँ) का आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा छ । कारोबार सेयर संख्या (६ लाख ३८ हजार कित्ता) का आधारमा सिभिल बैंक सबैभन्दा अघि छ । कारोबार संख्या (३ हजार ९ सय ३५ वटा) का आधारमा बुटवल पावर कम्पनी नै अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।
यो साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । उक्त अवधिमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
उक्त अवधिमा कन्काइ विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर, काबेली विकास बैंकको ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर र इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको २८ लाख ६७ हजार २ सय २५ कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।