काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत सीईओ तुलसीराम गौतमले कार्यभार सम्हाल्नु सुरु गर्नुभएको छ । सीईओ गौतमलाई बैंकको सञ्चालक समिति तथा का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गर्नुभयो ।
विगत ७ महिना देखि नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले कायम मुकामय प्रमुख कार्यकारी अधिकृत भई कार्यभार सम्हाली बैंकलाई सफलताका साथ अगाडी बढाउनु भएको थियो ।
गौतम अनुभवी बैंकरको रुपमा परिचित हुनुहुन्छ । नेपाल बैंकबाट बैंकिङ्ग सेवा सुरु गर्नुभएको गौतमले उक्त बैंकमा १३ वर्ष काम गर्नुभएको थियो । त्यसपश्चात् उहाँले नेपाल इण्डोस्वेज बैंकमा ७ वर्ष, नेपाल एस्बीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्षको कार्यकाल पूरा गर्नुभएको थियो ।
गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गर्नु भएको छ । उहाँको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बढाउदै अगाडि बढ्ने बैंकको विश्वास रहेको छ ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।