काठमाडौँ — रसुवा र नुवाकोटमा निर्माणाधीन २ सय २८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले दुई वर्षभित्रै उत्पादन थाल्ने गरी काम अघि बढाएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, १ सय ११ मेगावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चारै आयोजना विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भइरहेका हुन्। चिलिमे जलविद्युत् कम्पनीको प्रवद्र्धक प्राधिकरण हो।
सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको ऋणमा बनिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ को निर्माण आगामी वैशाखभित्र सक्ने लक्ष्य छ। आयोजनाले निर्माण गरिहेको त्रिशूली थ्री ‘ए’ –मातातीर्थ २२० केभी प्रसारण लाइनका १ सय ४२ वटा टावरमध्ये अधिकांशको काम भइरहेको छ। ५ वटा टावरको काम स्थानीयको अवरोधका कारण सुरु हुन नसकेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।
आयोजनाको सिभिल, विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) लाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा जिम्मा दिइएको छ।
निर्माणस्थलको पहिचानमा ढिलाइ, विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्पलगायतका कारणले आयोजनाको निर्माणमा यसअघि ढिलाइ भएको थियो।
ठेकेदार कम्पनीको काम सन्तोषजनक रहेको र तोकिएकको समयअगावै सक्ने गरी काम भइरहेको जोशीले बताए।
रसुवागढी आयोजनाको समग्र निर्माण प्रगति ६० प्रतिशत भएको आयोजनाले जनाएको छ। आयोजनाले २०७६ पुस १५ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
आयोजनाको विद्युत् जोड्नका लागि चिलिमे हब–त्रिशूली थ्री ‘बी’ प्रसारण लाइन हबको निर्माण हुनुपर्छ। रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत् खेर जान नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने अवस्था रहेको बताए। उनले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानी गर्दा सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गरे।
माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश: ७० र ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ। सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताए।
प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र वन क्षेत्रका रूख काट्न स्वीकृति लिने प्रक्रिया झन्झटिलो रहेको उनले बताए। आयोजनाले विद्युत् गृहबाट चिलिमे हबसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ। माथिल्लो सान्जेनबाट आगामी वैशाखसम्म विद्युत् उत्पादनको लक्ष्य राखिएको छ।
सान्जेनले भने आगामी १३–१४ महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने चिलिमे हब–त्रिशूली थ्री ‘बी’ २२० केभी प्रसारण लाइन निर्माण भइसकेपछि उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ। उक्त प्रसारण लाइन अर्को वर्ष निर्माण भइसक्ने प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार चारै आयोजनाको स्थलगत निरीक्षण गरेको थियो। मन्त्री पुनले चारै आयोजना प्रमुखहरूलाई आयोजनाको काम सकेसम्म तोकिएको समयभन्दा अघि नै सक्न निर्देशन दिएका थिए।
टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजना निर्माणमा देखिएका समस्या र समाधानका उपायबारेमा छलफल गरेको थियो। मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिए।
‘आयोजना समयमै पूरा गर्न मन्त्रालयबाट गर्नुपर्ने सबै सहयोग हुन्छ,’ मन्त्रीले भने, ‘तालिकाअनुसार नै काम सकाउनुहोला।’ कान्तिपुरबाट