२०८३ साउन ११ सोमबार

३३ किलो सुन प्रकरण : एसपी खनाल प्रहरी नियन्त्रणमा, डिएसपी सञ्जय राउतको पनि संलग्नताको आशंका

ई आर्थिक    बुधबार, बैशाख १२ २०७५
2.3K
Shares
३३ किलो सुन प्रकरण : एसपी खनाल प्रहरी नियन्त्रणमा, डिएसपी सञ्जय राउतको पनि संलग्नताको आशंका

बुधबार, १२ बैशाख २०७५, काठमाडौं – ३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा थप व्यक्तिहरु पक्राउ पर्ने क्रम जारी रहेको छ । छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।

मंगलबार राती अबेर गृह मन्त्रालयकै अनुमतीमा खनाललाई नियन्त्रणमा लिई हिरासतमा राखिएको हो । उनी सोमबार मात्रै बयानका लागि मकवानपुरबाट काठमाडौं आएका थिए । सुन तस्करीका नाइके गोरे भनिने चुडामणी उप्रेतीसँग उनको सम्बन्ध देखिए पछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

यसैबीच यो घटनामा डिएसपी सञ्जय राउतको पनि संलग्नताको आशंका समितिले गरेको छ । एसएसपी खनालसँगै इटहरीमा कार्यरत् डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो । राउत बयानकै बीच गृहबाट निस्किएका थिए । अहिले उनी समितिबाट सम्पर्कबिहीन बनेको स्रोतले जानकारी दिएको छ । नियन्त्रणको डरले राउत ‘फरार’ भएको हुन सक्ने अनुमान समिति स्रोतको छ ।

यसै घटनामा संलग्नता देखिएका पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले बयान लिए लगत्तै पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । साढे ३३ केजी सुनका मालिक भनिएका फरार अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसँग निरौलासहित एसपी खनाल र डिएसपी राउतको सम्पर्क रहेको समितिले भेट्टाएको स्रोतले जानकारी दिएको छ ।

व्यापारी, प्रहरी अधिकारीहरु सहित यो घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । त्यसैगरी संलग्नताको सूचिमा रहेका २१ जना भने फरार रहेका छन् ।

फरार हुनेमा सुन डन गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतमलार्इ प्रहरीले खोजी सूचीमा राखेको छ ।

प्रहरीले उनीहरूसहित ३८ जनाको सम्पत्ति रोक्का गरेको छ । गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरी यो घटनाको बारेमा विस्तृत छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij