तस्करीको सुन गायब गरेको आरोपमा उर्लाबारी–७ का युवा सनम शाक्यको हत्या भएको थियो । उनको शव १८ फागुनमा उर्लाबारी–१ स्थित जंगलमा भेटिएपछि प्रहरी अनुसन्धानबाट सुन प्रकरणबाहिर आएको हो । अरू १५ जना अझै फरार छन् ।
फरारमध्ये पाँचजना मुख्य आरोपी भनिएका चूडामणि उप्रेती उर्फ गोरेका आफन्त छन् । उप्रेती पनि फरार छन् । प्रहरीले सो काण्डमा संलग्न भनिएका सबै ३८ जनाको सम्पत्ति रोक्का गरेको छ । प्रहरीको निवेदनअनुसार मोरङ अदालतले २६ चैतमै संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार आरोपी सबैको बैँक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिइसकेको छ ।
गोरेविरुद्ध डिफ्युजन नोटिस
प्रहरीले गायब साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका ३५ वर्षीय गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य आरोपी बनाएको छ । उनीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको छ । यस्तो नोटिस जारीपछि अभियुक्तलाई अन्तर्राष्ट्रिय रूपमै मोस्ट वान्टेड सूचीमा राखिन्छ । उर्लाबारी–७ पशुपतिटोल घर भएका गोरे भारतीय सेनाका जागिरे थिए । जागिर छाडेर कुवेत गएपछि उनी रहस्यमय तरिकाले रातारात धनी भएका थिए ।
सुन गायबपछि तीनको मृत्यु
उर्लाबारी नगरपालिका–७ का सनम शाक्यको गत १८ फागुनमा हत्या भयो । गायब सुन पत्ता लगाउन उनलाई तस्करहरूको गिरोहले करेन्ट लगाएर हत्या गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरी र अर्का आरोपी सानु बमले प्रहरीको हिरासतमा नै आत्महत्या गरे । नयाँ पत्रिकाबाट