काठमाडौँ । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया लगायतका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।
ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्तामा यसै साताभित्र पार्टी एकताको खाका तयार गर्ने विषयमा सहमति भएको नेताहरुले जानकारी दिनुभयो ।
पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन दुई अध्यक्ष सहमत हुनु भएको र यो साताभित्रै एकताको खाका तयार गर्ने विषयमा सहमति जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिनुभयो ।
पार्टी एकतामा नीति र नेतृत्वका विषयमा भोलि बिहान दुई अध्यक्ष बसेर थप सहमति गर्नुहुने तय भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
संगै चाँडै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी पनि भएको अध्यक्ष ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।