केन्द्रीय तथ्यांक विभागका निर्देशक डा.जिष्णुमोहन भट्टराईले एडीबीको प्रक्षेपण तथ्यको नजिक नभएको टिप्पणी गरेका छन्। जीडीपी निर्माणमा मुख्य भूमिका खेल्ने भट्टराईले एडीबीले मोडलिङका आधारमा धेरै वर्षको तथ्यांकलाई विश्लेषण गरी वृद्धिदरको अनुमान तयार पारेको बताए। ‘हामी वास्तविक तथ्यको विश्लेषण गरेर तथ्यांक निकाल्छौं’, उनले भने, ‘त्यसैले सरकारी प्रक्षेपण सत्यको नजिक छ। धान उत्पादन थोरै घट्दैमा आर्थिक वृद्धिमा त्यति धेरै अन्तर पर्दैन।
सम्भवतः हामी चालु आवमा सरकारले पछिल्लो पटक गरेको आर्थिक वृद्धिको अनुमानको नजिक पुग्छौं।’ विभाग प्राथमिक तथ्यांकमा खेल्ने र अन्तर्राष्ट्रिय संघसंस्था भने मोडलिङका आधारमा प्रक्षेपण गर्ने भएकाले वास्तविकभन्दा ढाटा हुने उनको दाबी छ। यो वर्ष बन्दहडताल छैन, औद्योगिक क्षेत्रले राम्रो प्रगति गरिरहेको छन्। सेवा क्षेत्र पनि त्यतिकै राम्रो छ। कृषि उत्पादनमा धानको उत्पादन थोरै घट्दैमा आर्थिक वृद्धिमा ठूलो अन्तर आउँदैन। अन्य क्षेत्रबाट यसको अन्तर परिपूर्ति हुने भट्टराईले बताए।
गत आवमा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएर जीडीपीमा धानको २१.७ प्रतिशत योगदान गरेको थियो। यस वर्ष धान उत्पादनमा १.५ प्रतिशत कम भएको छ। सरकारी तथ्यांकअनुसार यस वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन हुने देखिएको छ। धानका साथै वर्षे बाली कोदो र मकैको उत्पादन पनि कमी आउने देखिएको छ।
एडीबीले पनि कृषि उपजमा हुन सक्ने उत्पादन वृद्धिलाई अनुमान गर्दै यस अघि गरेको प्रक्षेपणमा संशोधन गरेको हो। एडीबीले गत सेप्टेम्बरमा चालु आव आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरेको थियो। सरकारले चालु आवको बजेट प्रस्तुत गर्दा ७.२ प्रतिशत आर्थिक वृद्धि प्राप्त हुने गरी कार्यक्रम ल्याएको बताएको थियो। सरकारले सुरुको प्रक्षेषणमा १.२ प्रतिशत घटाएको छ भने एडीबीले ०.२ प्रतिशतले बढाएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आवमा नेपालको वृद्धिदर ४.५ हुने अनुमान गरेको छ। विश्व बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने अनुमान गरेको छ। सरकारले चालु आवको बजेट अर्धवार्षिक समीक्षामा विकासोन्मुख देशको अर्थतन्त्र यस वर्ष ४.९ प्रतिशत रहने अनुमान गरेको छ।
गएको आवमा नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत थियो। त्यस वर्ष जीडीपीमा प्राथमिक क्षेत्र (कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन्) को ३० प्रतिशत योगदान थियो। राजनीतिक अस्थिरता र अन्य कारणले उत्पादनमूलक क्षेत्रमा कमी आउने देखिएको छ भने सेवा क्षेत्रका उत्पादनमा वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको छ। चालु आवमा होलसेल, खुद्रा व्यापार, वित्तीय क्षेत्र, वित्तीय मध्यस्थता, होटल तथा पर्यटन व्यवसायमा वृद्धि हुने देखिएको छ। द्वितीय (निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी) क्षेत्रको गत आवमा १४.०१ र सेवा क्षेत्रको ५५.९९ प्रतिशत योगदान रहेको विभागको तथ्यांक छ।
स्रोतः केन्द्रीय तथ्यांक विभाग, अन्नपूर्ण पोष्टबाट