काठमाडौँ, २० चैत । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले विपन्न व्यक्ति र समुदायको आर्थिक उन्नतिमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ अभियानका साथ चैत २१ र २२ गते काठमाडौँमा हुन गइरहेको दोस्रो राष्ट्रिय सहकारी महासम्मेलनको पूर्व तयारीका सन्दर्भमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनुभएको हो ।
उहाँले सहकारीको जगमा उभिएर आर्थिक उपलब्धि हासिल गर्दे सहकार्यमार्फत सामाजिक रुपान्तरणको अभियानमा लाग्न सहकारी अभियानकर्मीलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले महासम्मेलनले कृषि तथा गैरकृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता, उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको जानकारी दिनुभयो ।
महासम्मेलनमा भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायत मुलुकका सहकारी अभियन्ताको उपस्थिति रहनेछ ।
नेपालको पहिलो सहकारी संस्था चितवनको बखानसिंह सहकारी संस्था हो । सो संस्थाको स्थापना २०१३ चैत २० गते भएको हो । सोही दिनको सम्झनामा विसं २०७० बाट महासम्मेलन गरिँदै आएको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा हुन गइरहेको उक्त महासम्मेलनमा कार्यक्रममा देशभरका विभिन्न सहकारी संस्थाको उपस्थिति रहनेछ ।
नेपालको संविधानले जनताको जीवनस्तर माथि उठाउन सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवाद उन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको संविधानले निजी, सार्वजनिक र सहकारीलाई तीनखम्बे अर्थनीतिका रुपमा परिभाषित गरेको छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोको सम्बोधन, देश विदेशका विभिन्न विषयका विशेषज्ञका ११ कार्यपत्र प्रस्तुत, दिगो विकासमा सन्दर्भमा संयुक्त राष्ट्रसंघीय विकास कोष (युएनडिपी), अन्तर्राष्ट्रिय श्रमसंगठन, (आइएलओ) लगायत संस्थाका प्रतिनिधिका मन्तव्यसमेत रहेको आज आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरिएको छ ।
हाल ३४ हजार ५१२ सहकारी संस्थामार्फत ६३ लाख नागरिक आबद्ध छन् । हाल रु ७३ अर्ब शेयर पूँजी, रु तीन खर्ब निक्षेप तथा रु दुई खर्ब ७३ अर्ब ऋण लगानी गरेको छ ।
राष्ट्रिय सहकारी महासंघले यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था भरतपुरलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी यस वर्षको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७४ बाट क्रमशः पहिलो पाइला बहुद्देश्य सहकारी संस्था झापा, साना किसान कृषि सहकारी संस्था धनुषा, मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछाप, सिवाइसी बचत तथा ऋण सहकारी संस्था बाग्लुङ, पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था नवलपरासी , जनसेवा कृषि सहकारी संस्था, सल्यान र सुुदुर पश्चिम बहुद्देश्य सहकारी संस्था कैलाली रहेका छन् । रासस