२०८३ साउन ९ शनिबार

हराभरा बन्दै बगर, उदयपुर सिवाइका किसान बगरमा काँक्रा, फर्सी, करेला, लौका र तर्बुजा फलाउँदै

ई आर्थिक    सोमबार, चैत्र १९ २०७४
12.1K
Shares
हराभरा बन्दै बगर, उदयपुर सिवाइका किसान बगरमा काँक्रा, फर्सी, करेला, लौका र तर्बुजा फलाउँदै
डिल्लीराम खतिवडा, चैत्र १८, २०७४, उदयपुर — पछिल्लो समय चौडण्डीगढी नगरपालिका ५, सिवाइका किसानले बगर खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । ७ वर्षयता तरकारी खेती गर्दै आएका उनीहरूले अहिले बगर पनि खेती सुरु गरेका हुन् ।

‘गर्दा हुँदो रहेछ त’ यो वाक्यांशले ठूलो प्रेरणा मिलेको ५१ वर्षीय डिल्लीकुमार लम्साल बताउँछन् । ‘गरे हुन्छ, नगरी बसे भोकै मरिन्छ,’ उनले भने, ‘बगरमा सुन फल्छ भनेर सुनेको थिएँ तर अहिले आफैंले तरकारी खेती गरी त्यसैको आम्दानीबाट घरखर्च चलाएको छु । मौसमी, बेमौसमी र बगरमा तरकारी खेती गरी वार्षिक ७ लाख आम्दानी भएको उनले सुनाए । त्रियुगा बगरमा तरकारी खेतीबाटै ३ छोराछोरीलाई उच्च शिक्षा दिन सकेको उनको भनाइ छ । अहिले लम्सालले त्रियुगा बगरको डेढ बिघामा काँक्रो, फर्सी, लौका, तितेकरेला र तर्बुजा खेती गरिरहेका छन् । काँक्रा सातापछि बजारमा आउँदै छ । अन्य ३ सातापछि बजार आउने उनले बताए ।किसानले समूह बनाएरै त्रियुगा नदीको बगरमा खेती गरिरहेका छन् । किसानले काँक्रा, फर्सी, तितेकरेला, लौका र तर्बुजाको खेती गरेका छन् । बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी भइरहेको उनीहरूको भनाइ छ । भएको खेत नदीमा आएको बाढीले पुरेपछि किसान चिन्तित थिए । नदी कटान र बलुवाले खेत भरिएपछि किसानहरूले त्यसैमा खेती गरी आम्दानी गरिरहेका हुन् ।

लम्साल मात्रै होइन उनीजस्तै अन्य किसानले पनि बगरमा तरकारी खेती गरिरहेका छन् । डिल्लीकुमार संयोजक रहेको १७ सदस्यीय ‘त्रियुगा किसान समूह’ सिवाई क्षेत्रमा मौसमी, बेमौसमी र बगरमा तरकारी खेती गरिरहेको चौडण्डीगढी नगरपालिका ५, सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीले बताए । चौधरीका अनुसार किसानका अन्य समूह पनि तरकारी खेतीमा सक्रिय छन् ।
तरकारी खेतीबाट आम्दानी राम्रो भएपछि अन्य खेती छाडेको अर्का किसान गोविन्द बस्नेत बताउँछन् । ‘बगरमा तरकारी खेती गरी राम्रो आम्दानी हुँदो रहेछ,’ उनले भने, ‘थोरै लगानी गरी लाखौंको आम्दानी हुँदा किसान आर्थिक रूपमा सक्षम हुँदो रहेछ ।’ बगारमा खेती गर्न जमिनका लागि पैसा खर्च नहुने मल बीउ पनि सहयोग हुने भएकोले आम्दानी राम्रो भएको उनले बताए ।
सुरुमा विपन्न विद्यार्थीहरूका अभिवाकहरूमा आयआर्जन भन्दै नवप्रभात नेपालले सहयोग गरेको लम्सालले बताए । ‘नव प्रभावतले सुरुमा बीउबिजन, सिँचाइ, मलखादसँगै खेती प्रविधिको सहयोग गर्‍यो,’ उनले भने, ‘झन्डै ७ वर्षअधि पाएको सहयोग र ज्ञानले अहिले वार्षिक ७ लाख आम्दानी भइरहेको छ ।’ छोराछोरीलाई विद्यालय पठाउन उत्तप्रेरित गर्दै नवप्रभावले तरकारी खेती सिकाएको उनले बताए । ‘सुरुमा आर्थिक र प्राविधिक सहयोग गरियो, अहिले उनीहरू आफैं तरकारी खेती गर्न सक्षम भएका छन्,’ नवप्रभातका अध्यक्ष दुर्गानन्द चौधरीले भने । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij