२०८३ साउन १० आइतबार

पूँजीबजारलाई सम्बोधन गर्ने तयारी : श्वेतपत्र जारी हुँदै

ई आर्थिक    बुधबार, चैत्र १४ २०७४
3.1K
Shares
पूँजीबजारलाई सम्बोधन गर्ने तयारी : श्वेतपत्र जारी हुँदै

बैङ्क तथा वित्तीय क्षेत्रलाई समेत समेटेर विशेष कार्यक्रम, लगानीकर्ता बजार बढ्दा पनि त्रासमा, नेप्से बढ्यो

काठमाडौं । अर्थ मन्त्रालयले अर्थतन्त्रको सबै क्षेत्रलाई सम्बोधन हुने गरी यसै साता श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अर्जुन पोखरेलले श्वेतपत्रमा पूँजीबजारको समस्यालाई विशेष सम्बोधन गर्ने तयारी सरकारको रहेको जानकारी दिए । ‘लामो समयदेखि निरन्तर ओरालो लागेको पूँजीबजारको अवस्था सुधारका लागि लगानीकर्ताबाट आएको मागसमेत श्वेतपत्रमार्पmत सम्बोधन गर्ने अर्थ मन्त्रालयको तयारी छ,’ उनले भने ।

सरकारले जारी गर्न लागेको श्वेतपत्रमा पूँजीबजारसँगै बैङ्क तथा वित्तीय क्षेत्रलाई समेत समेटर विशेष कार्यक्रम ल्याउने तयारी भएको पोखरेलले जानकारी दिए । सोमवार इन्भेष्टर्स फोरमले सरकारको अदूरदर्शी नीतिले पूँजीबजारमा असर परेको निष्कर्ष निकाल्दै विभिन्न मागसहित १९ बुँदे विज्ञप्ति जारी गरेको थियो । फोरमले ७ दिनभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको थियो ।

शेयरबजारका विश्लेषक लगानीकर्ता डमरुवल्लभ घिमिरेले भने, ‘लगानीकर्ताको बारम्बारको दबाबका कारण सरकारले श्वेतपत्र जारी गर्न लागेको हो ।’ अघिल्लो दिन ५२ अङ्कले घटेको बजार मङ्गलवार ३९ अङ्कले बढ्दा बजार कुन मोडमा जान्छ भन्ने कुनै टुङ्गो नभएको उनले बताए । ‘एक्कासि बढेको बजार टिकाउ नहुन पनि सक्छ, लगानीकर्ताहरू बजार बढ्दा पनि त्रासमा छन्,’ घिमिरे भन्छन् ।

नेप्से बढ्यो
मङ्गलवार नेप्से परिसूचक ३ दशमलव ३५ प्रतिशत बढेको छ । कारोबार भएको २ घण्टासम्म घटेको शेयरबजार त्यसपछि बढेर बन्द भएको छ । यस दिन १ हजार १ सय ३५ विन्दुमा पुगेर उकालो लागेको बजार १ हजार २ सय १६ विन्दुसम्म पुगेको थियो । अन्त्यमा ३९ दशमलव १६ अङ्क बढेर १ हजार २ सय ७ दशमलव ७१ विन्दुमा बन्द भएको छ । बजार घटेपछि धेरै कम्पनीको शेयर मूल्य सस्तिएको छ । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको शेयर किन्ने लगानीकर्ताको चाप बढेपछि बजार बढ्न पुगेको हो ।

कारोबार भएका १० समूहमध्ये व्यापार समूहबाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । होटल समूहको परिसूचक उच्च अङ्क (७ दशमलव ५६ प्रतिशत)ले बढेको छ । यस समूहमा पर्ने ओरियन्टल होटलको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत, सोल्टी होटलको ८ दशमलव १० प्रतिशत र तारागाउँ रिजेन्सीको शेयर मूल्य ३ दशमलव २६ प्रतिशतले बढेपछि होटल समूहको परिसूचकमा उच्च वृद्धि भएको छ । साथै, बीमा समूहको ५ दशमलव ५४, लघुवित्तको ५ दशमलव १, जलविद्युत्को ४ दशमलव ५ र बैङ्किङको ३ दशमलव १७ प्रतिशतले बढेको छ ।

कारोबार भएका १ सय ६६ कम्पनीको ७ हजार १ सय ४१ पटकको व्यापारमा १५ लाख ११ हजार ६ सय ४० कित्ता शेयरको ५० करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता रू. १ हजार ५ सय ७५ मा रू. १० करोडबराबरको उच्च कारोबार भएको छ । यस कम्पनीले ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांशको लागि बूक क्लोज बुधवार अन्तिम दिन भएकाले मङ्गलवार यस कम्पनीको शेयर कारोबार उच्च भएको हो । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सात कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ३ दशमलव ८४ प्रतिशतले घटेको छ । कारोबार भएका १ सय ६६ कम्पनीमा १ सय २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ । साथै, १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन कारोबार रकम अघिल्लो कारोबार भएको दिनको तुलनामा ६ दशमलव शून्य ९ प्रतिशतले बढेकोे छ । यस दिन करोबार रकम रू. २ करोड ९० लाख बढेको छ । कुल बजार पूँजीकरण ३ दशमलव ४० प्रतिशतले बढेर रू. १४ खर्ब १५ अर्ब पुगेको छ ।

यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ३ दशमलव २४ प्रतिशत बढेर २ सय ५७ दशमलव ७४ अङ्क पुगेको छ । त्यसैगरी, यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरसोल्ड अथवा २९ दशमलव ७३ स्केलमा रहेको छ ।

यसले बजारमा विक्री चाप बढेको देखाउँछ । नेप्सेको एडी रेशियो ४ प्रतिशत रहेको छ । यसले बजार बियरिश वृत्तिमा रहेको देखाउँछ ।

अभियानबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij