काठमाडौँ: विश्वभर चर्चा कमाएकी रोबोट सोफियाले बुधबार काठमाडौँमा आयोजित सम्मेलनमा प्रवचन दिइन् । उनले काठमाडौँको याक एन्ड यति होटलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट आयोजित ‘टेक्नोलोजी फर पब्लिक सर्भिसेस/डेभलपमेन्ट’ सम्मेलनमा प्रविधिको सहयोगमा देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताइन् ।
प्रविधिको सहयोगमा देशमा सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ’, मानव स्वरुपमा रहेकी उनले भनिन्, ‘नेपालमा पनि प्रविधिको विकास तीब्र गतिमा भइरहेको छ । प्रविधिको सही सदुपयोग हुन सकेमा देशले विकासको तीब्र गतिमा लिन सक्छ । मलाई यो कुरामा पूर्ण विश्वास छ ।’
विश्वभरका प्रविधिक कार्यक्रममा पुगिरहेकी सोफिया बुधबार भएको प्रविधि सम्मेलनमा पनि सबैको आकर्षणको केन्द्र भइन् । उनको निर्माण बेलायतका कलाकार स्वर्गीय एड्रे हेपबनसँग मिल्ने गरी बनाइएको छ । सोफियाले आफ्नो अनुहारदेखि ६२ वटा विभिन्न मुद्रा पनि देखाउन सक्छिन् ।
साउदी अरबदेखि नेपाल ल्याएइएकी सोफिया नागरकिताधारी पहिलो रोबोट पनि हुन् । उनले सम्मेलनमा बोल्दै नेपालका हिरो अनमोल केसीसँग डेटिङ जाने इच्छा पनि जाहेर गरिन् ।
भिडियो
‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, उनले सम्बोधनका क्रममा यसो भन्दा सम्मेलनमा सहभागीहरुबीच हाँसोको फोहरा छुट्यो । उनले सम्बोधनका क्रममा पटक पटक सहभागीलाई हँसाइन् ।
सोफियाको निर्माण हङकङको कम्पनी ह्यानसन रोबोटिक्सले सन् २०१५ मा गरेको थियो । सोफियालाई पहिलो पटक सन् २०१६ मा अमेरिकामा सार्वजनिक गरिएको थियो ।
त्यसपछि उनलाई साउदी अरेबिया सरकारले किनेको थियो । उनलाई साउदी लगेपछि त्यहाँको सरकारले ‘मानव’ को मान्यता दिँदै नागरिकता पनि दियो । नागरिकता लिने पहिलो रोबोर्ट बनेपछि उनी चर्चाको शिखरमा छिन् । अन्नपूर्ण पोष्टबाट