१६० मिटर लामो पुलको ७० प्रतिशत निर्माण सम्पन्न
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिजको ७० प्रतिशत निर्माण सकिएको छ ।
०७५ असारसम्म सम्पूर्ण काम सक्ने गरी निर्माण भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । तनहुँ र चितवन जोड्ने ‘आर्क डिजाइन’मा निर्माण भइरहेको पुल इलाइट एड्भेन्चर र लोहनी जेभी कम्पनीले गरिरहेका छन् । इन्जिनियरिङ पनि नेपाली इन्जिनियरकै छ ।
कुल १६० मिटर लम्बाइको यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक छ । यो राज्यको लगानीमा निर्माण भइरहेको देशकै सबैभन्दा लामो पुल हो ।
यसअघि, चोभारको सिमेन्ट कारखानानजिकै आर्क डिजाइनमा ८० मिटर लामो पहिलो पुल निर्माण गरिएको सडक विभाग, पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।
‘नयाँ प्रविधिमा र नयाँ डिजाइनमा बनिरहेको यो नमुना पुल हो’ उनले भने । यो पुन निर्माण सम्पन्न भएसँगै पृथ्वी राजमार्ग भएर चल्ने सवारीलाई आवतजावतमा सहज हुनेछ ।
निर्माण एकवर्ष ढिला
तोकिएको समयमै निर्माण हुन सकेको भए मुग्लिनको आर्क ब्रिजमा ०७४ असारमै गाडी गुडिसक्थे । तर, तोकिएको समयभित्र काम पूरा भएन ।
०७१ फागुनदेखि काम थाल्ने गरी निर्माण सम्झौता भएको पुल फरक डिजाइनको भएकाले तोकिएको समयमै पूरा गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ ।
‘निर्माणाधीन अवस्थामा नदीको बहाब बढेको, संवेदनशील र अग्लो ठाउँमा भएकोले निर्माणमा ढिलो भएको हो,’ इलाइट एड्भेन्चरका प्रबन्धक मोतिलाल शर्माले भने, ‘अहिले पुल निर्माणमा बिम, डबी र फर्मा जोड्ने काम भइरहेको छ । थपिएको एक वर्षभित्र निर्माण सक्ने गरी काम भइरहेको छ ।’
दसैँदेखि पुल प्रयोगमा
निर्माण कम्पनीले आगामी दसैँसम्ममा यो पुल प्रयोगमा ल्याउने बताएको छ । निर्माणाधीन पुल सम्पन्न गरिएपश्चात् दुईतर्फी सवारी आवागमन सहज हुनेछ । तोकिएको समयमा निर्माण गरिसक्न दैनिक २५ जना कामदार खटिएको शर्माले बताए ।
पुरानो पुलमा स्टिलका स्परहरू राखेर सञ्चालन गरिएकोमा नयाँ पुल बनेपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन धेरै सहज हुने पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
अहिले सञ्चालनमा रहेको पुलमा दैनिक हजारौँ सवारी आवतजावत गर्दा चाप खपतमा ह्रास आएको र धाराशायी बन्दै गइरहेको इन्जिनियरहरू बताउँछन् । पुरानो पुलको आयु सकिए पनि मर्मत गर्दै सञ्चालनमा ल्याइएको छ ।
पुलको कुल लागत १४ करोड
निर्माणाधीन पुल १४ करोड लागतको हो । सडक विभाग, पुल महाशाखा काठमाडौंअन्तर्गत सेक्टर नम्बर–२ ले हेर्ने यो पुलको निर्माणमा कुल लागतको ३५ प्रतिशत खर्च भइसकेको सडक विभागले जनाएको छ । निर्माण कम्पनीले नै डिजाइन एन्ड विल्ड मोडेलमा उक्त पुल निर्माण गरिरहेको छ ।
किन आर्क ब्रिज ?
अर्जुनजंग थापा, प्रमुख, पुल महाशाखा, सडक विभाग
नेपालजस्तो भूगोल भएको देशमा आर्क ब्रिजको निर्माण महत्वपूर्ण मानिन्छ । खोँच र गल्छी परेका भूभागमा यस्ता पुलले थप सौन्दर्य दिन्छ । यो डिजाइनको पुलको बीचमा पिलर राखिँदैन ।
यो पुलको अर्को आकर्षण हो । नेपालका अन्य ठाउँमा पनि यसप्रकारका पुल शृंखलाबद्ध रूपमा निर्माण गर्ने तयारी भइरहेको छ ।
नयाँ पत्रिकाबाट