२०८३ साउन ११ सोमबार

सातै प्रदेशका मुख्यमन्त्रीलाई चेम्बर अफ कमर्शको सम्मान

ई आर्थिक    बुधबार, फाल्गुन ३० २०७४
2.3K
Shares
सातै प्रदेशका मुख्यमन्त्रीलाई  चेम्बर अफ कमर्शको सम्मान

३० फागुन, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ । चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

सो अवसरमा प्रदेश-१ का मुख्यमन्त्री राईले मुलुकमा राजनीतिक मुद्दा सकिँदै गएको र आर्थिक विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै ‘निजी क्षेत्रको सुझावलाई लिएर प्रदेश सरकार अगाडि बढ्छ,’ भने ।सम्मानितहुने मुख्यमन्त्रीमा प्रदेश–१ का शेरधन राई, प्रदेश–२ का लालबाबु राउत गद्दी, प्रदेश–३ का डोरमणि पौडेल, प्रदेश–४ का पृथ्वीसुब्बा गुरुङ, प्रदेश–५ का शंकर पोखरेल, प्रदेश–६ अर्थात कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र प्रदेश–७ का त्रिलोचन भट्ट रहेका छन् ।

प्रदेश-२ का मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना मुलुक समृद्ध नहुने बताउँदै निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश नं-२ तयार रहेको धारणा व्यक्त गरे ।

प्रदेश-३ का मुख्यमन्त्री पौडेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुक समृद्ध हुन नसक्ने उल्लेख गर्दै लगानीको वातावरण निर्माणका लागि चाहिने ऐन कानून बनाउन आफ्नो प्रदेश लाग्ने बताए ।

प्रदेश-४ मुख्यमन्त्री गुरुङले स्रोत र साधनको व्यवस्थापन गरेमात्र प्रदेश समृद्ध हुने भन्दै निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्न नसक्ने विचार व्यक्त गरे ।

प्रदेश-५ का मुख्यमन्त्री पोखरेलले काठमाडौँमा बसेर समृद्धिका कुरा गरेर नहुने भन्दै समृद्ध मुलुक निर्माणका लागि सबै क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अधिकार सम्पन्न प्रदेश नभएसम्म मुलुकको विकास हुन नसक्ने भन्दै प्रदेशलाई अधिकार दिने कुरामा केन्द्रले कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।

प्रदेश–७ का मुख्यमन्त्री भट्टले कृषि, पर्यटन, जलविद्युत् र जडीबुटी आर्थिक विकासको मेरुदण्ड भएकाले यसको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए ।

चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले प्रदेशको विकास भएमात्र मुलुकको विकास हुने भएकाले मुलुकलाई समृद्धितर्फ लैजान प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij