काठमाडौं । केही सञ्चार माध्यममा आएको अनर्गल समाचार प्रति श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ध्यानाकर्षण गराएको छ । केही व्यक्तिले गलत मनासाय राखि संस्था र संस्थाका प्रमुख कार्यकारी निर्देशक विरुद्ध कपोलकल्पित र भ्रामक समाचार राख्न लगाएको संस्थाले जानकारी दिएको छ ।
संस्था र संस्थाका प्रमुख कार्यकारी निर्देशकको भ्रामक तथा गलत सूचना प्रकाशित भइरहेको भन्दै त्यस्ता भ्रामक र गलत सूचना तथा समाचारको पछि नलाग्न सेयरधनी तथा सम्बन्धित सबै सरोकारवालाहरुलाई संस्थाले अनुरोध गरेको छ । संस्थाले सत्य तथ्य जानकारी लिन संस्थाको कार्यालयमा सम्पर्क गर्न पनि संस्थाले अनुरोध गरेको छ । संस्थाबाट कर्जा लिई विगत ७ बर्षदेखि कर्जा नतिरि बसेका श्यामबहादुर खत्री र शितल खत्रीले विभिन्न सञ्चार माध्यममा गई उजुरी गरेको आधारमा सूचना तथा समाचार प्रकाशित गर्न लगाएको संस्थाले जानकारी दिएको छ ।
साथै यस्तो भ्रामक सूचनाले संस्थाको ख्यातिमा असर पर्ने भएकाले गलत सूचनालाई आधार मानेर समाचार प्रकाशित÷प्रशारित नगरिदिनु हुन पनि संस्थाले सञ्चार माध्यमहरुसँग अनुरोध गरेको छ । साथै संस्थाका गलत समाचार तथा सूचना आएको सञ्चार माध्यमलाई समाचारको खण्डनको लागि समेत अनुरोध गरेको छ ।
‘फेक न्यूज’ राखेर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई ओरण्टल को–अपरेटिभ जस्तै बनाउन खोज्नु ‘महापाप’ भएको अन्जु सिलवालले प्रतिक्रिया दिइन ।
चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्व भुक्तानी, सेयर सदस्यहरुलाई दिने प्रतिफल तथा कुल कारोबारमा नेपालको सहकारी बजारमा सञ्चालित बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि लगायत अन्य प्रकृतिको कारोबार गर्ने करिब ३३ हजार सहकारी संस्थाहरुमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी अग्रणी स्थानमा रहेको संस्थाले जानकारी दिएको छ । साथै संस्थाले सदस्यहरुलाई उत्कृष्ट र विश्वसनीय सेवा प्रदान गरिरहेको संस्थाले जनाएको छ ।
त्यसैगरी प्रतिस्पर्धात्मक दरमा ब्याज प्रदान, गरी संस्थाले सेयर सदस्यहरुबाट निक्षेप संकलन गरिरहेको र उक्त निक्षेपलाई नै सर्वसुलभ ब्याजदरमा उत्पादनशील, आयमुलक र शिपमुलक क्षेत्रहरुमा कर्जा प्रदान गर्दै आईरहेको पनि संस्थाले जानकारी गराएको छ ।
सहकारी अभियानका एक अगुवाले एउटा व्यक्तिले दिएको गलत सूचनालाई लिएर समाचार संस्थाले समाचार बनाउनु पूर्व संस्थाको आधिकारिक धारणा बुझ्नु पर्ने बताए । एउटा शुसासनयुक्त र मजबुद ढंगबाट सञ्चालित संस्थालाई अतिरञ्जित ढंगले सुनियोजित प्रचार प्रसार गर्नु कसैको हितमा नहुने उनको भनाई छ । सहकारी अभियानमा समेत श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको ठूलो योगदान रहेको उनले बताए । सर्वसाधारणको मर्म र भविष्यसँग जोडिएको आर्थिक तथा वित्तीय संस्थाको पछि गलत ढंगले प्रचारवाजी गर्न नहुने र सबै सरोकारवाला संवेदनशील हुन पर्नेमा उनको जोड छ ।