२०८३ साउन १० आइतबार

सरकारलाई ४ खर्ब थप दायित्व सिर्जना, चालु खर्च घाटाका कारण ७.२ प्रतिशतको वृद्धिदर हासिल हुन कठिन

ई आर्थिक    बिहिबार, फाल्गुन २४ २०७४
8.7K
Shares
सरकारलाई ४ खर्ब थप दायित्व सिर्जना, चालु खर्च घाटाका कारण ७.२ प्रतिशतको वृद्धिदर हासिल हुन कठिन
अपेक्षा अनुसार विकास खर्च नहुनु, चालु खर्च अनपेक्षित रुपमा बढ्नु, शिथिल राजस्व असुली, आयातमा वृद्धि, निर्यातमा घट्दो अवस्था, विप्रेषण आप्रवाहमा ह्रास, शोधनान्तर घाटा र चालु खर्च घाटाका कारण ७.२ प्रतिशतको वृद्धिदर हासिल हुन कठिन

फाल्गुन २४, २०७४, काठमाडौँ — चालु आर्थिक वर्षको बजेटमा हुँदै नभएको रकम र स्रोतविहीन आयोजना समावेश गर्दा करिब ४ खर्ब रुपैयाँको दायित्व सिर्जना भएको छ । अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

‘बजेटमा ४ खर्ब रुपैयाँको अतिरिक्ति दायित्व सिर्जना हुँदा व्यवस्थापन चुनौतीपूर्ण भएको छ,’ मध्यावधि समीक्षा सार्वजनिक गर्दै उनले भने । अर्थ मन्त्रालयका अनुसार यस वर्षको बजेटमा गत वर्ष खर्च नभएको रकम आउने भन्दै १ खर्ब २ अर्ब रुपैयाँ राखिएको छ । जबकि अघिल्लो वर्ष नै ४८ अर्ब रुपैयाँ घाटा रहेछ । जसले गर्दा बजेटमा व्यवस्था भएको तर स्रोतमा १ खर्ब ५० अर्ब न्यून रहेको समीक्षामा औंल्याइएको छ । यो न्यून रकमलाई पूर्ति गर्नु चुनौतीपूर्णसमेत रहेको समीक्षामा उल्लेख छ ।

बजेट निर्माणमा संलग्न तत्कालीन अधिकारीहरूले खर्च र आम्दानीको विवरण राम्ररी नकेलाउँदा यस्तो समस्या देखिएको अर्थका एक अधिकारीले बताए । ‘राष्ट्र बैंकमा सरकारी विभिन्न कोषहरूमा भएको रकमलाई पनि बचतका रूपमा देखाइँदा समस्या भएको हो,’ ती अधिकारीले भने, ‘त्यतिबेला १ खर्ब ५० अर्ब बचत देखिएको रहेछ, बजेट निर्माणमा संलग्न अधिकारीहरूले १ खर्ब त बचिहाल्छ नि भनेर हचुवाको भरमा राखेको जस्तो देखियो ।’ यसैगरी दाताहरूबाट प्राप्त हुने अनुमान गरी करिब ३२ अर्ब रुपैयाँ राखिएको तर प्राप्त नभएको पनि अर्थ मन्त्रालयको समीक्षामा छ । बजेटमाथि यो रकमसमेत ऋणात्मक हुन जानेछ । ‘थप ३२ अर्बसमेत जोडदा स्रोत १ खर्ब ८२ अर्ब रुपैयाँ खुद ऋणात्मक हुने अवस्था देखिएको छ,’ समीक्षामा भनिएको छ ।
स्रोतको सुनश्चितता नभई आयोजनामा बजेट राखेर गल्ती गरेको देखिएको छ । २ खर्ब ४ अर्ब रुपैयाँ बराबरका आयोजनाहरू स्रोतको सुनिश्चितता नगरी बजेट राखिएको भेटिएको छ । बजेटको आकार बढाउने ध्याउन्नमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा र संलग्न अन्य अधिकारीले ती आयोजना राखेको भेटिएको हो ।
‘विगतमा स्रोतको सुनिश्चितता दिइएका र बहुवर्षीय ठेक्का लागेका आयोजना कार्यक्रमहरूको दायित्व भुक्तानी चुनौतीपूर्ण छ,’ मध्यावधि समीक्षामा उल्लेख छ । यसैगरी विभिन्न मन्त्रालय तथा सरकारी निकायले ३ खर्ब २६ अर्ब रुपैयाँ गैरबजेटरी रकम माग गरिएको पनि समीक्षामा उल्लेख छ । वार्षिक बजेटमा उल्लेखित कार्यक्रम खर्च नगर्ने र नयाँ कार्यक्रमका लागि सरकारी निकायहरूले उक्त रकम माग गरेका हुन् ।
यससँगै संघीयता कार्यान्वयनमा बढेको खर्च र राजस्व लक्ष्यअनुसार नउठदा सरकार स्रोत व्यवस्थापनको चेपुवा परेको छ । लक्ष्यभन्दा बढी राजस्व उठ्न सकेको छैन । समीक्षा अवधि (चालु आर्थिक वर्षको ६ महिना) मा राजस्व संकलनको लक्ष्य मुस्किलले पूरा भएको छ । ३ खर्ब ३४ अर्ब १४ करोड ३० लाख लक्ष्य रहेकामा ३ खर्ब ३५ अर्ब १० करोड असुली भएको छ । जुन लक्ष्यभन्दा ० दशलमव २९ प्रतिशत मात्रै बढी हो । ‘उल्लेखित तथ्यांकको विश्लेषण गर्दा यो वर्षको ६ महिनाको राजस्व संकलनको अवस्था अपेक्षाअनुसार भएको देखिँदैन,’ समीक्षामा भनिएको छ ।
चालु खर्च भने निकै बढेको समीक्षामा आंैल्याइएको छ । ठूलो रकम स्थानीय तहमा रोकिएका कारण पनि केन्द्र सरकारलाई स्रोतको अभाव भएको हो । स्थानीय तहमा १ खर्ब ४६ अर्ब रुपैयाँ हस्तान्तरण भएको बजेटमध्ये हालसम्म ४६ अर्ब रुपैयाँ खर्च भएको छ । जुन ३१ दशमलव ५० प्रतिशत मात्रै हो । बाँकी रकम स्थानीय तहकै खातामा थन्किएर बसेको छ । संविधान र संघीय संरचना कार्यान्वयनका लागि जारी ऐनहरूअनुसार स्थानीय तहमा हस्तान्तरण भइसकेको उक्त रकम सरकारले माथि तान्न पाउँदैन । जसले गर्दा सरकारलाई खर्च व्यवस्थापनमा दबाब परिरहेको छ ।
अपेक्षाअनुसार राजस्व संकलन नभएको, बजेटको तुलनामा स्रोत ऋणात्मक भएको र खर्च गर्ने क्षेत्रहरू बढ्दै गइरहेकाले सरकारमाथि बजेट जुटाउन निरन्तर दबाब परेको हो । यो पृष्ठभूमिमा सरकारी निकायहरूमा खर्चमा मितव्ययी प्याकेज ल्याउने तयारी रहेको अर्थसचिव शंकर अधिकारीले बताए । उक्त प्याकेज फागुन मसान्तभित्रै सार्वजनिकगरिने समीक्षा प्रतिवेदनमा घोषणा गरिएको छ ।
‘धेरै दायित्व भएकाले आगामी दिनमा मितव्ययी कार्यक्रम ल्याउने तयारी छ,’ उनले भने । यसैगरी सामाजिक सुरक्षा भत्ता प्रणालीको पुनरावलोकन गर्ने तयारी पनि अर्थको छ । दोहोरो लाभ लिइरहेकालाई कटौती र सुरक्षाका नयाँ उपाय अवलम्बन गरिनेछ अर्थमन्त्री खतिवडाले बताए । ‘सामाजिक सुरक्षा आवश्यक छ तर सबै नगदकै रूपमा हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘सबैले सुरक्षा पाउने गरी यसको व्यवस्थापन गरिनेछ ।’
तलब, भत्ता, पानी तथा बिजुली, सञ्चार महसुल र घरभाडा, बिमा, खाद्यान्न, औषधिजस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र अथवा चालु खर्चमा रकमान्तर गर्न नपाइने व्यवस्था पनि गरिएको छ । राजस्व सचिव शिशिर ढुंगानाले राजस्वलाई लक्ष्यभन्दा बढी उठाउने गरी कार्यक्रम ल्याइने दाबी गरे । अर्थमन्त्री खतिवडाले भन्सारमा नै न्यून बिजकीकरण रोक्ने प्रक्रिया सुरु भइसकेको बताए । ‘मुहान नै सफा नगरी हुँदैन,’ उनले भने, ‘त्यसमा पहल भइरहेको छ ।’
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले तरलताको समस्या समाधानका लागि पहल भइरहेको बताए ।
समीक्षाले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार नै हुन नसक्ने आंैल्याएको छ । बजेटमा यो वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो । यो पूरा नहुने केही कारण अर्थमन्त्री खतिवडाले समीक्षा मन्तव्यमा उल्लेख गरेका छन् ।
‘समीक्षा अवधिमा नेपाल सरकार संघ र प्रदेशको चुनाव सम्पन्न गर्तेतर्फ केन्द्रित रहेकाले विकास खर्च अपेक्षित रूपमा हुन सकेन भने चालु खर्च अनपेक्षित रूपमा बढ्यो । कर राजस्व असुलीमा शिथिलता, आयातमा वृद्धि, निर्यात घटदो अवस्था, विप्रेषण आप्रवाहमा ह्रास, शोधानानतर घाटा र चालु खर्च घाटाजस्ता आर्थिक परिसूचकहरूसमेत सन्तोषजनक देखिएनन्,’ खतिवडाले मन्तव्यमा भनेका छन्, ‘तसर्थ चालु आर्थिक वर्षमा लक्षित वृद्धिदर हासिल हुन कठिन देखिएको छ ।’
संशोधित अनुमानअनुसार ६ प्रतिशतभन्दा बढी हुनेछ। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij