२० बर्षअघि एनबी बैंकको शाखा स्थापना गराएर निजीक्षेत्रको बैंकलाई जनकपुरमा पहिलो पटक प्रवेश गराउनु भएका विनय रिजाल त्यहीको स्थानीय सहयोगी विकास बैंकको व्यवस्थापकीय नेतृत्व तहमा पुग्नु भएको छ । सो क्षेत्रमा आफूले विगतमा बनाएको सम्बन्धलाई नविकरण गर्दै स्थानीयहरुलाई सेवा गर्ने अवसर रिजाललाई मिलेको छ । एमबीए सम्मको अध्ययन गर्नुभएका रिजालसँग बाणिज्य बैंकका विभिन्न महत्वपूर्ण विभागहरुमा रहेर विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको समेत अनुभव रहेको छ । विगत २० बर्ष देखि बैंकिङ क्षेत्रमा आफूसँग भएको अनुभवलाई सहयोगी विकास बैंक, बैंकका ग्राहक र सेयरधनीको वृहत्तर हितमा सदुपयोग गर्ने बताउनुहुन्छ । प्रस्तुत छ, सहयोगी विकास बैंकमा उहाँको प्रवेश, सो बैंकमा उहाँको योजना र बैंकको समग्र अवस्थाको बारेमा उहाँसँग गरिएको कुराकानी :
सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा पुग्नु भएको छ । कस्तो अनुभव भइरहेको छ ?
यो मेरो बैंकिङ क्षेत्रमा प्रबेशको झन्डै २१ वर्ष पछिको अनुभब हो । यस किसिमको अनुभव मेरो लागि अबश्य पनि नौलो छ । चुनौतिपूर्ण वर्तमान समयमा जिम्मेवारी पनि ठूलो रहेको छ । तर जुन आशा र विश्वासले मलाई सञ्चालक समितिले मलाई यो अवसर दिनुभएको छ । त्यो उहाँहरुको आशा र विश्वासप्रति म प्रतिबद्ध छु । सञ्चालकहरुका साथै अध्यक्षज्यूको विश्वासलाई म साकार बनाएर देखाउने छु । मैले बिगत २१ वर्षमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा लगभग २० प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग काम गर्ने मौका पाएँ । उहाँहरुसँग बैंक सञ्चालनको नीति, विधि र प्रविधि प्रयोगका कुराहरु धेरै सिक्ने अवसर पनि पाएँ । आज म तिनै अनुभवहरुलाई मुल मन्त्रको रुपमा प्रयोग गरेर यो अवसरलाई परिणाममुखी बनाउने छु । पहिलोपटक बैंकको व्यवस्थापकीय नेतृत्व तहमा पुगेकोमा म उत्साहित पनि भएको छु । साथै रमाइलो पनि अनुभव भेइरहेको छ ।
तपाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनु अघि सहयोगीको वित्तीय अवस्था कस्तो पाउनु भयो ? बैंकको यो अवस्थालाई कस्तो बनाउने तपाईको लक्ष्य रहेको छ ?
सहयोगी विकास बैंक आफैमा बलियो विकास बैंक हो । यसको स्थापना २०६० सालमा भएको हो । आज यो बैंक १४ वर्षपुरा गरी १५ औं वर्षमा हिडिरहेको छ.। यस बैंकले द्वन्द्वकालको समयमा प्रगति गर्न सकेन, समय सापेक्ष आफूलाई विभिन्न कारणले गर्दा बिस्तारित गर्न नसकेको मात्र हो । बैंकको बिगत् ५/६ वर्षको वासलात हेर्ने हो भने यो आफ्नो समकर्मी बैंकहरुमा अहिल ३ मध्येकै बैंकहरु मध्येमा पर्दछ । यसलाई राष्ट्रियस्तरको बैंकको रुपमा परिणत गरिसक्नु पर्ने हो, तर हुन सकेन । मेरो आगामी लक्ष्य यही नै रहने छ ।

तपाईसँग वाणिज्य बैंकको २० बर्षे अनुभव रहेको छ । विकास बैंकको हितमा उक्त अनुभव कसरी सदुपयोग गर्नुहुन्छ ?
मैले करिब २१ बर्षे अनुभवमा सँगालेका सानादेखि ठूला सबै खाले राम्रो, नराम्रो अनुभवहरुलाई म पहिचान गरी सही समयमा राम्रा अनुभवलाई उतार्ने छु । जसले गर्दा यो बैंकको भबिष्य माथि शंका गर्नेहरुले फेरी कहिल्यै पनि गलत सोच्न बाध्य नहोउन । यस क्षेत्रको विकास र विस्तारका लागि सहयोगी बैंक लि. नै रोज्न इच्छा गरुन भन्ने विश्वास लिएको छु । विकास बैंक पनि कुनै ‘क’ वर्गका बाणिज्य बैंक भन्दा कम हुन्नन् भन्ने उदाहरणलाई म प्रत्क्षरुपमा मेरो अनुभवद्वारा प्रमाणित गरेर देखाउने छु भन्ने मलाई लाग्छ ।
करिब २१ वर्षको ‘क’ बर्गको बैंकको अनुभव, उतार चढाब, नौलो अनुभव देखि बैंक स्थापना गर्ने सम्मको अनुभव लिनुभएको तपाईले किन विकास बैंक रोज्नु भएको हो त !
आजको ‘क’ वर्गको बैंक भित्र शुसाशन भन्दा विकृतिलाई बढी प्रसय दिने गरेको पाएँ । राम्रो भन्दा हाम्रो मान्छे, अनि काम भन्दा चाकडी चाप्लुसीको मूल्यांकन हुने गरेकोले मैले ‘क’ बर्गको बैंकलाई तिलान्जली दिएर बिकास बैंक भित्र रियल बैंकिङको अवधारणालाई प्रस्तुती गर्न विकास बैंक रोजेको हुँ । म सँग काम गर्नेहरुको मुल्यांकन कामबाट र मेहनतबाट मात्र हुन्छ । यही नै सफलताको सुत्रधार हो भन्ने कुराको प्रमाणित गर्न विकास बैंकलाई रोजेको हो । मुलतः तपाई कुनै पनि संस्थामा काम गर्नुस, जँहा तपाइलाई खुसीको महसुस होस् । काममा जानु अघि साना नानि–बाबु स्कूल जानु अघि गरेका क्रियाकलाप यो उमेरमा गर्न नपरोस भनेर नै मैले विकास बैंक रोजेको हो ।
तपाई बैंकको सीईओ भएर आइसके पछि बैंकको साखलाई उचाईमा पु¥याउने, ग्राहकलाई थप प्रभावकारी सेवा दिने, लगानीकर्तालाई उचित प्रतिफल दिने जस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैंकिङ क्षेत्रका चुनौतिका बीच यो कत्तिको संभव देख्नुहुन्छ ?
मेरो यस बैंकमा प्रबेशसँगै मलाई मेरा सहकर्मीको म माथिको विश्वास जित्नु थियो । किनकी म यस बैंकमा कुनै समूहलाई लिएर आएको थिइन् । मलाई आफूमाथि विश्वास थियो र यस बैंकका कर्मचारीहरु प्रति पनि, आजकलका सीईओहरु जमातमा हिड्छन, म हिड्न चाहिन, किनभने नेतृत्व गर्नेले जमातमा हिड्दैन र खोज्दैन पनि । मेरो यही राम्रो गुणको बारेमा मेरा बिगतका दिनमा साथीहरुले भन्ने गर्थे र मैले आज अबलम्बन गर्न पनि चाहें । अनि म नेतृत्व गर्न व्यक्ती हँु, फलोअर भएर हिड्ने होइन पनि । आज म यिनै कार्यमा व्यस्त छु । मैले मेरो प्रतिबद्धता जनाएको छु । सबैको चाहनाको विकास बैंक बनाएर देखाउने प्रतिबद्धता लिएको छु । त्यसलाई पुरा गरेरै छाड्छु । वर्तमान समय बैंकिङ क्षेत्रको लागि चुनौतिपूर्ण रहेको छ । तर चुनौतिलाई म अवसरमा परिणत गरेर देखाउने छु ।
बैंकको पूँजी संरचना कस्तो छ ? पूँजी बृद्धि गर्ने सम्बन्धमा बैंकले के कस्तो सोच बनाएको छ ?
बैंकको पूँजी संरचना नेपाल राष्ट्र बैंकले गरेको बर्गिकरण अनुसार ‘ख’ बर्गको लागि पर्याप्त पुग्छ । हामी आज ‘ख’ वर्गको ३ जिल्ला कार्यक्षेत्रको बैंकमा सिमित छौं । जसमा धनुषा, महोत्तरी र सिन्धुली पर्दछ । पूँजीबृद्धि गर्ने सोचमा छांै । सायद केहि समयभित्रै १० जिल्ले कार्यक्षेत्रमा परिणत हुन्छौ भन्ने हामीमा विश्वास छ । हामी त्यसका लागि पनि काम गर्दैछौ ।

हालसम्म बैंकको निक्षेप तथा कर्जा लगानी कति रहेको छ ?
यस बैंकको हालको निक्षेप ३ अर्ब ४० करोडको हाराहारीमा छ भने लगानी २ अरब ९७ करोड रुपैयाँ रहेको छ । ८ वटा शाखाले यति गर्नु ठूलो उपलब्धि हो जस्तो लाग्छ । बिशेसगरी विप्रेषणको राम्रो आम्दानीको कारण यो आज अझ मजबुत ढंगबाट उभिएको छ । जसले गर्दा आजको परिस्थितिमा पनि हामी ठूलो बाणिज्य बैंकहरुलाई निक्षेपको लागि सहयोग गर्न सफल छु ।
बैंकले कर्जा लगानी लागी के कस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ? कर्जा असूलीको अवस्था कस्तो रहेको छ ?
यस बैंकले विशेषगरी कृषि, उद्योग, व्यापार व्यवसायका अतिरिक्त सामाजिक र व्यक्तिगत कर्ता बढी लगानी भएको छ । यसका साथै हामीले नेपाल राष्ट्र बैंकले निर्देशित गरेका बिपन्न वर्ग र प्राथमिक क्षेत्रहरुमा पनि लगानी गरेका छौं । यस बैंकले ग्रामीण भेगका ब्येक्तिहरुका लागि उपयुक्त हुने खालका क्षेत्रहरुमा लगानी गरेको छ । माइक्रो लेन्डिङ्गको संरचनालाई पनि प्रयोगमा ल्याएका छौं ।
ग्राहकहरुलाई आकर्षित गर्ने बैंकका सेवा तथा सुविधाहरु के–कस्ता छन ?
बैंकको सुबिधा ठूला बाणिज्य बैंकहरुको जस्तो नभएता पनि यस क्षेत्रको लागि आवश्यक सुबिधाहरु सबै छन, हामी अब नयाँ पुस्ताले खोज्ने, रोज्ने सुबिधाहरुलाई पनि छोटो समय भित्र ग्राहक माझ पु¥याउनका लागि तत्पर भएर लागेका छौं । २१औं शताब्दीको बैंकिङ सेवाहरुलाई सबैमाझ ल्याउने तरखरमा छौं । हाम्रो ठूलो आकर्षण भनेको पर्र्सनल बैंकिङ तथा केयेर नै हो । हामी ग्राहकसँग हातेमालो गरेर बैंकिङ सेवा प्रदान गर्दछांै । त्यसैले हाम्रो सेवाबाट ग्राहकहरु खुशी र सन्तुष्ट भएको हामीले पाएका छौं ।

बैंकका शाखा सञ्जाल कुन–कुन स्थानमा र कति रहेका छन् ?
बैंकले ८ स्थानमा शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । त्यसमा धनुषा र महोत्तरी जिल्लामा बढी शाखाहरु रहेका छन् । त्यस्तै सिन्धुलीमा एउटा शाखा विस्तार भएको छ । हामी यही आर्थिक वर्ष भित्र ४ वटा शाखाहरु खोल्दै छौ । आगामी आर्थिक वर्षसम्म २० वटा शाखाहरु विस्तार गर्ने हाम्रो सोच रहेको छ ।
बैंकको कार्यक्षेत्र रहेको स्थानमा सहयोगीले कत्तिको प्रतिस्पर्धा गर्नु परिरहेको छ ?
यस क्षेत्रमा सहयोगी विकास बैंक लिमिटेडको उपस्थिति बाणिज्य बैंक भन्दा कम छैन । बरु कुनै ‘क’ बर्ग बैंकको शाखा कता छ भन्दा थाहा छैन भन्छन । सहयोगी बैंक भएको क्षेत्रमा अन्य बैंक वित्तीय संस्था कुनामा खोज्नु पर्छ । यो क्षेत्रमा सहयोगी बैंकलाई परिचय दिनु पर्दैन । यसक्षेत्रको बैंक कहाँ छ भन्दा सहयोगी बैंककै नाम पहिलो आउने गर्दछ । जुन समयमा याक भन्नाले चुरोट बुझिन्थियो, आज यस क्षेत्रमा बैंक भन्नाले सहयोगी बैंक नै भन्ने बुझाई छ ।
यो बैंकको कार्यक्षेत्र ग्रामीण क्षेत्रमा पनि रहेको छ । यस्तो क्षेत्रमा भविष्यको लागि बचत गर्नुपर्छ भन्ने भावना र जनचेतनाको स्तर कस्तो रहेको छ ?
अबको नेपालको बैंकिङ क्षेत्रले सेवा प्रदान गर्ने भनेको दुई क्षेत्रमा हो । पहिलो आई.टि. र दोस्रो कृषिजन्य । तेस्तै प्रदेश पनि २ नै हो भन्दा अनुपयुक्त नहोला । यस क्षेत्रमा वित्तीय जागरणको अभाव छ । जनचेतनाको अभाव छ । तर यहाँ बैंक वित्तीय संस्थाको लागि अन्य क्षेत्रको भन्दा राम्रो भबिष्य पनि छ । किनकि यो क्षेत्रले बैंकिङ विकासलाई भर्खर मात्र अंगालेको छ । जहाँ हरेक क्षेत्रको विकासका साथै भारत र नेपाल जोड्ने बिशाल सडक देखि सबै पूर्वाधारहरुको संरचनाहरु बन्न सुरु भएका छन् । यस क्षेत्रमा विकासले गति लिएको छ ।

नेपालमा विकास बैंकको भविष्य कस्तो देख्नुहुन्छ ?
मेरो व्यक्तिगत विचारमा ठूला बाणिज्य बैंकहरुको भबिष्य छैन भन्छु । किनभने पूँजी संरचनामा देखिएको जतिपनि अबस्थाको कारण, आज बैंकहरु दिनानुदिन निर्देशनहरु सच्याउनका लागि पछि–पछि दगुरेका छन् । ठूला बाणिज्य बैंकहरुको समस्याहरु धेरै आउन थाले । नियामक निकाय पनि यसैको कार्यलाई मात्र गहन अध्यनरत रहन्छ । अनि निर्देशिका तयार गर्छ । यस परिप्रेक्ष्यमा म त नेपालमा विकास बैंकको भबिष्य राम्रो देखिरहेको छु । राष्ट्रियस्तरका विकास बैंकको अझ बढी राम्रो भबिष्य र संभावना देखेको छु मैले । यसलाई तुलना गर्दा विकास बैंक आफ्नो परिवार भित्र रमाएर बसे जस्तै हो भने ठूला बाणिज्य बैंकहरु भोज भतेरमा रमाए जस्तै हो भन्नलाई अफ्ठ्यारो लाग्दैन ।
नेपालको वित्तीय क्षेत्रका मूख्य–मूख्य समस्याहरु के कस्ता रहेका छन ?
दीर्घकालिनरुपमा लागू हुने निर्देशिकाहरु नहुनु, समय सापेक्ष नीतिहरुको तर्जुमा गर्न नसक्नु, देशमा भएका रिसोर्सेसहरुबाट हुने उपलब्धिमुलक नीतिहरु निर्माण गर्न नसक्नु, साधारण भन्दा साधारण बस्तुहरुको आयात गरिनु, विदेशिएर आर्जन भएको बिदेशी मुद्राको सही ढंगबाट उपयोग नहुनु वित्तीय क्षेत्रमा देखिएका समस्या हुन । त्यस्तै स्थायी सरकार र स्थायी बजारले गति नपाउनुका साथै आर्थिक उन्नति, विकासका नीति सम्मत परियोजना निर्देशित नीति नहुनु पनि बैंक वित्तीय क्षेत्रमा देखिएका समस्या हुन ।
शाखा विस्तार अथवा मर्ज गर्ने गराउने सम्बन्धमा बैंकको के योजना रहेको छ ?
सञ्चालक समिति भित्र बौद्धिक, प्रतिष्ठित अनि समय सापेक्ष निर्णय लिन सक्ने सञ्चालकहरु मैले पाएको छु । त्यसैले म भन्दा उहाँहरु नै यस बारेमा चिन्तित हुनुहुन्छ । बैंकमा मेरो आबद्धता समाबेशीले त्यो विषयले पूर्णता पाउछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

शेयर बजारको आजको अवस्था र बैंकको शेयर मूल्य बारे केहि बताइदिनोसन ?
शेयर बजारले गति लिन सकेको छैन । बजार सीमित ब्यक्तिले चलाउने गरेको पाएको छु । ठूला लगानीकर्ताहरुको सोच नै नीतिमा परिवर्तन हुने भएकोले यसले प्रगति गर्न नसकेको हो । साना लगानीकर्ताहरु अध्ययन बिना नै होहल्लामा लागेर लगानी गर्ने गरेको पाएको छु । जबसम्म लगानीको नीतिगत अध्यन गर्ने बानि र मुख्य प्रिन्सिपलहरुको व्यवहारमा लागू हुँदैन, तबसम्म शेयर बजारको अवस्था यस्तै नै हुन्छ । उतार चढाब भै नै रहन्छ । हाम्रो बैंकको शेयरको मूल्य बजारको अबस्था भन्दा भिन्न हुन सक्दैन, किनकी म पनि त्यही बजारमा नै प्रस्तुत हुने हो । मूल्यको कुरा गर्दा गतवर्षको पूँजी संरचनाका कारण उपलब्ध गराइएको साधारण शेयरको संख्याको परिमार्जनले पनि हुन सक्छ । सहयोगी विकास बैंकको स्थिति हेर्ने हो भने येसको शेयर मूल्य हाल कम भएको भन्न मिल्दैन । जँहा ठूला बाणिज्य बैंकहरुको अवस्था सहयोगी विकास बैंकको शेयर मूल्य भन्दा पनि कम छ । हाम्रो सञ्चालक समितिले लिएको निर्णय र ब्यबस्थापनद्वारा प्रस्तुत भोलिका कार्य योजनाहरु लागू भए सँगसँगै यसले छोटो समयमा धेरै नै मूल्यको फड्को मार्ने विश्वास लिएको छु । आजको बुद्धिमत्तापूर्ण निर्णयले भोलिका दिनहरुमा सोचे भन्दा बढी प्रतिफल दिने छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । केहि समय होल्ड गर्न सक्ने शेयरधनी महानुभावहरुलाई यो आफ्नो बचतको सही सदुपयोग गर्ने निर्णय हुने छ भन्नेमा मलाई कुनै अफ्ठेरो लाग्दैन । मैले धेरैलाई सहयोगी विकास बैंकको शेयर किन्ने सुझाब दिएको पनि छु ।
तपाई र सहयोगी विकास बैंकका भावि योजना के कस्ता छन् ?
हामी समय अनुकुल अघि बढ्ने छौँ । २ वर्ष भित्र आफ्नै भवन निर्माण गरेर हामीले हाम्रो सेवा विस्तार गर्ने छौं । यसको लागि प्रक्रिया अघि बढिसकेको छ । हामी बिस्तारै–बिस्तारै आफ्नो दायित्वको भन्दा सम्पत्तिको सिर्जना हुने काम हरु गर्ने योजनामा छौं । ग्रामीण भेगमा आएका एनजीओ तथा बिकसित मित्र राष्ट्रहरुबाट प्राप्त सहयोगको पूँजीसंग सहकार्य गर्ने खालका योजनाहरुसँग मिल्दो जुल्दो भावी योजनाहरुको विस्तार गर्दे जाने छौँ ।