२०८३ साउन ९ शनिबार

कांग्रेस दलको नेतामा देउवा, उपनेता गच्छदार

ई आर्थिक    मंगलबार, फाल्गुन २२ २०७४
4.1K
Shares
कांग्रेस दलको नेतामा देउवा, उपनेता गच्छदार
रमेश सापकोटा, काठमाडौं, २२ फागुन। कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे ।

सुशील कोइरालाको निधनपछि ०७२ चैतमा भएको संसदीय दलको निर्वाचनमा देउवा २०६ भोटमा १३९ मत ल्याएर विजयी भएका थिए । रामचन्द्र पौडेल ६७ मत ल्याएर पराजित भएका थिए । देउवाले त्यतिखेर ६७.४७ प्रतिशत र पौडेलले ३२.५३ प्रतिशत मत ल्याएका थिए । तर, दुई वर्षपछि आफ्नो शक्ति झन् बढाएका छन् । पौडेल पक्ष भने झन्झन् खस्किएको छ ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमा देउवा पक्षले ११ जित्दा पौडेल पक्षले नौ र सिटौला पक्षले तीन सिट जितेको थियो । तर, समानुपातिकका ४० सिटमा देउवाले २८ सांसद आफ्नो पक्षका पार्न सफल भए । समानुपातिकमा आफ्नो पक्षको वर्चस्व हुने गरी नै सभापति देउवा पक्षले सूची बुझाएको थियो । प्रत्यक्षमा हाराहारी जिते पनि समानुपातिकबाट देउवा हाबी भएका हुन् ।

यसअघि, देउवा तीनपटक संसदीय दलको नेता चयन हुँदा तीनैपटक प्रधानमन्त्री बनेका थिए । यसपटक वाम गठबन्धनको वर्चस्व भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनिसकेको छ र पूरा कार्यकाल जाने निश्चितजस्तै देखिन्छ । यसअघि, २०५२, २०५६ र २०७२ मा देउवा संसदीय दलको नेतामा चयन भएका थिए ।

नेता निर्वाचित भएलगत्तै आक्रामक देउवा
संसदीय दलको नेतामा चयन भएलगत्तै बसेको पहिलो बैठकपछि देउवाले सरकारका क्रियाकलापप्रति खरो रूपमा उत्रिने चेतावनी दिएका छन् । ‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हौँ । यो व्यवस्थामा सत्तापक्षलाई काम गर्नका लागि एकसय दिन अर्थात् हनिमुनको अवधि दिने भनिन्थ्यो’ देउवाले भने, ‘तर, ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन । एकसय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ ओली सरकारले दिएन । सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षीको भूमिका खेल्छौँ ।’

पार्टी प्रवेश गरेलगत्तै गच्छदार उपनेता
संसदीय दलको नेतामा चयन भएपछि पहिलो बैठकबाटै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाए । प्रतिनिधिसभा निर्वाचनको केही समय अघि मात्रै फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले उपनेतामा चयन गरेका हुन् ।

शशांकको निष्क्रियताले भोट घटेको आशंका
पौडेल पक्षका नेता भएर पनि महामन्त्री डा. शशांक कोइराला दलको नेता चयन प्रक्रियामा सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खसेको कांग्रेसभित्र चर्चा छ । निर्वाचित पदाधिकारी र प्रभावशाली नेता भएर पनि सिंहको प्रस्तावक नबन्दैदेखि कोइरालाको निष्क्रियताप्रति शंका गरिएको थियो । कोइराला सिंहको प्रस्तावक पनि बसेनन्, उम्मेदवारी दर्ताको प्रक्रियामा पनि सहभागी भएनन् । तर, सोमबार दलको नेता चयनका लागि भोट हाल्न भने पुगे ।

आफूले प्रभाव पार्न सक्ने केही भोटका लागि पनि कोइरालाले पहल नगरेको चर्चा कांग्रेसभित्र छ । उद्योगी विनोद चौधरी, सत्यनारायण खनाल र कर्मा घलेको भाग देउवातिर जानबाट शशांकले रोक्न नसकेको आरोप पौडेल पक्षका नेताले लगाउन थालेका छन् । पौडेल पक्षका डा. मिनेन्द्र रिजाल र डा. नारायण खड्कालेसमेत देउवालाई भोट हालेको चर्चा कांग्रेसमा छ ।

पौडेल पक्षका नेता दिलेन्द्रप्रसाद बडु केही सांसदले विकल्पको कुरा गरे पनि कुनै अवसर पाउने आशामा सभापतिलाई नै भोट हालेको हुन सक्ने बताउँछन् । ‘सभापतिको विकल्पको कुरा पनि उठेका थिए । तर, सभापति नै उठ्दा विकल्पमा दिनुभन्दा अवसर पाउन सकिन्छ भन्ने केहीमा देखियो’ बडुले नयाँ पत्रिकासित भने, ‘यसले पनि केही भोट फरक परेको हुन सक्छ । तर, कसले कता हाल्यो भन्न सकिन्न ।’

सर्वसम्मतमा शशांकका आँखा
सर्वसम्मत भएको भए महामन्त्री कोइरालाले आफैँ दलको नेतामा अघि बढ्ने तयारी गरेका थिए । तर, देउवाले नछाड्ने भएपछि उनलाई सर्वसम्मत हुन नदिन पौडेल पक्षले सिंहलाई अघि सारेको हो । तर, पनि अपेक्षित मत यो पक्षले ल्याउन सकेन । पछिल्लो समय सिटौला पक्ष देउवासँग असन्तुष्ट भएपछि पौडेल पक्षले सिटौला पक्षका भीमसेनदास प्रधानबाहेक दुई मत र देउवा पक्षकै केही मत तान्न सक्ने अपेक्षा गरेको थियो । तर, उनीहरूले सोचेभन्दा भिन्न परिणाम आयो । एक नेता देउवा खेमामै गए ।

प्रमुख सचेतक, सचेतक र समितिमा सभापति बन्न पाउने आशासमेतले सांसदहरूले भोट क्रस गरेको एक केन्द्रीय नेता बताउँछन् । शशांक उठेका भए देउवाले ३६ र शशांकले २७ मत ल्याउने अनुमान थियो । तर, शशांक अघि नबढ्दा र सक्रिय नहुँदा देउवा झनै हाबी भएका हुन् । पौडेल पक्षकै नेता बडु महामन्त्री कुनै पक्ष र विपक्षमा नलागेको बताउँछन् । ‘महामन्त्रीले पक्ष र विपक्षमा लागेर सक्रिय हुन्न भन्दै आउनुभएको छ’ उनले भने, ‘उहाँले एक ठाउँमा भोट हाल्नुभयो होला, तर पक्ष र विपक्षमा नखुल्नुभएको हो ।’ १३औँ महाधिवेशनबाट सभापतिमा देउवा र महामन्त्रीमा शशांक निर्वाचित भएदेखि नै यी दुई नेताबीच खासै विवाद छैन । पार्टी सञ्चालन प्रक्रियामा सभापतिलाई सहयोग नै गर्नुपर्छ भन्ने मान्यता शशांकले राख्दै आएका छन् ।

सिटौला पक्षको पनि मत बाँडियो
कांग्रेसमा सिटौला पक्षबाट निर्वाचित तीन सांसद थिए । जसमा भीमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट दिएका छन् । युवा नेता गगन थापाले भने सिंहलाई भोट हाले । सिटौला पक्षबाट प्रधान र चौधरीलाईसमेत सिंहलाई भोट हाल्न अन्तिमसम्म मनाउन पहल गरिएको थियो । तर, दुवैले देउवालाई भोट हाले । प्रधान सिंहसँग सधैँ असन्तुष्ट रहँदै आएका नेता हुन् । चौधरीले पनि देउवालाई नै भोट दिए । सभापति र दलको नेता एकै व्यक्ति हुन नहुने भन्दै अडान लिँदै आएका थापाले मात्र सिंहलाई भोट हाले ।

गगन, प्रदीपलगायतको पहल जारी रहने
पार्टी सभापति र संसदीय दलको नेता एकै व्यक्ति हुनु हुन्न भन्दै गगन थापा, प्रदीप पौडेललगायत युवा नेताहरूले अभियान नै चलाएका थिए । तर, प्रयास अहिलेका लागि असफल भयो । यद्यपि, टुंगोमा नपुगेसम्म आगामी दिनमा पनि लागिरहने यी नेताहरूले बताएका छन् । ‘पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षका साथमा दलको नेता नयाँ बनाउन सभापतिलाई हामीले निरन्तर आग्रह गर्दै आयौँ, आग्रह काम लागेन । मतदानबाट नेतृत्व परिवर्तन गर्न सकेनौँ’ सांसद थापाले नयाँ पत्रिकासित भने, ‘नेतृत्व परिवर्तन गराउने प्रयासको थालनी भएको छ । टुंगोमा नपुगेसम्म लगातार अभियान अघि बढाउँछौँ ।’

दलको नेता चुन्ने निर्वाचनमा सिंहलाई जिताउने भन्दा पनि देउवाको बढ्दो वर्चस्व कम गराउने रणनीतिमा युवा नेताहरू लागेका थिए । तर, महामन्त्रीदेखि पौडेल पक्ष नै खुलेर सिंहको पक्षमा नलागेपछि देउवा झन्झन् शक्तिशाली बन्दै गएको उनीहरूको निष्कर्ष छ । ‘हामीले शेरबहादुरले हार्छन् भनेर यो अभियान गरेका होइनौँ । एउटै व्यक्ति धेरै शक्तिशाली हुनु राम्रो होइन भनेर शक्ति घटाउँदै जानुपर्छ भन्नेमा हौँ’ एक युवा नेता भन्छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij