फाल्गुन १९, २०७४, काठमाडौँ — नागढुंगा–नौबिसे सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को खाका तयार भएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले केही दिनमै उक्त डीपीआर मन्त्रालयले पाउने जनाएको छ ।
‘१० दिनभित्र जापान सरकारले हामीलाई बुझाउँछ,’ सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठले भने, ‘चैतभित्र ग्लोबल टेन्डर आह्वान गर्छौं ।’ चाँडो सबै प्रक्रिया सकेर सुरुङमार्ग निर्माणअघि बढाइने उनले बताए ।
सुरुङको लम्बाइ २.७ किलोमिटर हुनेछ । नागढुंगा–नौबिसे खण्डको ट्राफिक जाममा निकै कमी हुने भन्दै उनले सुरुङमार्ग निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
सुरुङमार्ग एक्सेस रोडका लागि महादेवस्थान, दहचोक, बलम्बु र थानकोट क्षेत्रमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइसकिएको छ । यो सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुनेछ । जापानले १५ अर्ब ऋण लगानी गर्नेछ । यसबारे दुई देशबीच सम्झौता भइसकेको छ । ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले ऋण दिने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने विभागको अनुमान छ । यस आवमा उक्त परियोजना निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ छुटयाइएको छ ।
राजधानी प्रवेशद्वारका रूपमा रहेको नागढुंगा नाकामा ट्राफिक जामले निकै सास्ती हुने गरेको छ । यो नाकामा सवारी चाप अझै बढ्दै जाने भएकाले सुरुङमार्ग निर्माण गरेर तत्काल विकल्प दिनुपर्ने श्रेष्ठले बताए । ‘झन्डै तीन घण्टा सवारी जाममा पर्छन् । चालक, यात्रुलाई निकै सास्ती हुने गरेको छ,’ उनले भने, ‘यो अति महत्त्वपूर्ण परियोजना हो, निर्माणमा ढिलाइ गर्नु हुँदैन ।’
सुरुङमार्ग निर्माणपछि नौबिसे–सिस्नेखोलाबाट थानकोट १० मिनेटमा पुगिनेछ ।
सडक तीन लेनको हुनेछ । करिब १२ मिटर चौडा सुरुङमार्गको दुवैतिर १/१ मिटरको फुटपाथ राखिनेछ । आकस्मिक दुर्घटनाका समयमा उद्धारका लागि भेन्टिलेटर अन्य आवश्यक उद्धार सामग्री सुरुङमार्गमा राखिनेछ । साथै एक लेनको अर्को सहायक सुरुङमार्ग पनि बनाइनेछ । यो मार्गमा प्रज्वलनशील पदार्थ बोकेका गाडी तथा मोटरसाइकल चल्न नदिने विभागको योजना छ । कान्तिपुरबाट