काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनय रिजाल नियुक्त हुनु भएको छ । बैंक सञ्चालक समितिको बैठकले उहाँलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । एमबीए सम्मको अध्ययन गर्नुभएका रिजाल यस अघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रेशन विभाग (सिएडी) को प्रमुख पदमा कार्यरत हुनुहुन्थ्यो ।
विशेषगरी बाणिज्य बैंकहरुमा उहाँले आफ्नो कार्यअनुभव हासिल गर्नुभएको छ । सिभिल बैंकको अतिरिक्त उहाँले एनबी बैंकमा लामो समय काम गरेको अनुभव छ । ती बैंकहरुको विभिन्न विभागहरुको उच्च तहमा रहेर उहाँले काम गरिसक्नु भएको छ ।
बाणिज्य बैंकहरुको उच्च तहमा समेत रहेर कार्यानुभव हासिल गरिसक्नु भएका प्रमुख कार्यकारी अधिकृत रिजालबाट सहयोगी विकास बैंकले अझ प्रगति गर्ने आशा र विश्वास लिएको छ ।

बैंक व्यवस्थान, सञ्चालन सम्बन्धि विभिन्न किसिमका तालिमहरु समेत लिनुभएका प्रमुख कार्यकारी अधिकृत रिजालले बैंक वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुल्नु भएको छ ।
बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिका लागि प्रयोग गर्ने उहाँले बताउनुभयो । ‘बैंकको ख्यातिलाई थप उचाईमा पु¥याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भन्नुभयो– ‘त्यसका लागि म अहोरात्र खटिरहने छु ।’
बैंक सञ्चालक समितिले दिएको जिम्मेवारी र विश्वास प्रति आफू प्रतिबद्ध रहको बताउँदै उहाँले बैंकिङ क्षेत्रमा देखिएको वर्तमान चुनौतिलाई अवसरमा परिणत गरेर देखाईदिने बताउनुभयो ।
बैंकको व्यवस्थापकीय नेतृत्वमा आफ्नो प्रवेशसँगै बैंकका ग्राहक, सेयरधनी र शुभचिन्तकहरुबाट थप उत्साहका साथ निरन्तर सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो । निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक उन्नती र २१औं शताब्दी समय सुहाउँदो सेवाका साथै लगानीकर्ताको उचित प्रतिफलमा बैंकको जोड रहने उहाँले बताउनुभयो ।

सहयोगी विकास बैंकको मूख्य कार्यालय २ नं. प्रदेशको राजधानी, धार्मिक तथा व्यापारिक नगरी जनकपुरमा रहेको छ । स्मरणीय त के छ भने जनकपुरमा निजीक्षेत्रको बैंक प्रवेश गराउने पनि सीइओ रिजाल नै हुनुहुन्छ । २० बर्ष अघि एनबी बैंकको शाखा स्थापना गराएर जनकपुरमा राम्रो सम्बन्ध सम्पर्क बढाउनु भएका रिजाल अहिले सोही क्षेत्रको स्थानीय बैंकको व्यवस्थापकीय नेतृत्व तहमा पुग्नु भएको छ । चार बर्षसम्म सो बैंकमा रहेर काम गर्दा उहाँले जनकपुरको समाज र व्यापार व्यवसाय प्रबद्र्धनमा सहयोग र माया बाँडेर आफ्नो सम्बन्ध स्थापित गरिसक्नुभएको छ । त्यस्तै १८ बर्ष अघि ग्रामीण विकास बैंक जनकपुरको सञ्चालकको हैसियतमा पनि काम गरिसक्नुभएको छ । फेरि सोही स्थानमा रहेर स्थानीयहरुलाई वित्तीय सेवाको माध्यमबाट सेवा गर्ने अवसर पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
सहयोगीले विभिन्न स्थानमा ८ वटा शाखा विस्तार गरी ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चाँडैनै ४ वटा शाखा विस्तार गर्न लागेको जानकारी दिएको छ ।
बैंकमा हाल ६५ हजार ग्राहकहरु रहेका छन् । सेयर पूँजी रू. ५० करोड ९६ लाख रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४० करोड निक्षेप संकलन, रू. २ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । तीन जिल्ले कार्यक्षेत्र रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ बर्गको वित्तीय संस्था हो ।