अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत सुखी नेपाल र समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको छ भन्नुभयो ।
दशकौँदेखिको राज्यका केन्द्रीकृत संरचनालाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तहसहितको शासकीय पद्धतिमा ढाल्ने कार्य अगाडि बढेको चर्चा गर्दै उहाँले तीनवटै तहका सरकारले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको शुरुवात् भइसकेको बताउनुभयो ।
अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सशासन, स्थिरता, विकास र समृद्धि अबको कार्यदिशा रहने बताउनुभयो ।
आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न आह्वान
फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री पद सम्हाल्नुभएका नवनियुक्त प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो शासकीय मूल्य मान्यता, संविधानले अंगीकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ ।
मुलुकको विकास, प्रगति र समृद्धिका लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा म हार्दिक आह्वान गर्छु ।”
उहाँले समयसापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव नरहने चर्चा गर्दै अब जनताको चाहनाबमोजिम युगसापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशियाली ल्याउने महाअभियान शुरु भएको उद्घोषसमेत गर्नुभयो ।
“म सबै राजनीतिक दल र आमनेपाली जनतासँग साझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल गर्दछु”, प्रम ओलीले भन्नुभयो ।
उहाँले नेपाली जनताले युगौँदेखि सोचेको सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने सुवर्ण अवसर आएको चर्चा गर्दै प्राप्त अवसरलाई ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनको परिचालन गरी जनताको बृहत्तर हित र समृद्धिमा जुट्न आह्वानसमेत गर्नुभयो ।
प्रम ओलीले जनताको सङ्घर्षबाट निरङ्कुश जहानियाँ शासनको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको २००७ फागुन ७ अर्थात् आजको गौरवमय एवं ऐतिहासिक दिनको उपलक्ष्यमा सबैलाई शुभकामना तथा बधाई दिँदै लोकतन्त्र पद्धति, मूल्य, मान्यता र आदर्शप्रति समर्पित भई जीवन उत्सर्ग गर्नुुभएका ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभयो । (रासस)