२०८३ साउन ११ सोमबार

निर्जीवन कम्पनीको नाफा एक अर्ब ३४ करोड

ई आर्थिक    शनिबार, फाल्गुन ५ २०७४
3.9K
Shares
निर्जीवन कम्पनीको नाफा एक अर्ब ३४ करोड

मेनुका कार्की, शनिवार, फागुन ५, २०७४, काठमाडौं : चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ वटा निर्जीवन बिमा कम्पनीले एक अर्ब ३४ करोड २३ लाख रुपैयाँ नाफा कमाएका छन्। हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरूले गत आवको यहीँ अवधिभन्दा १९ दशमलव ४५ प्रतिशतले नाफा बढाएका हुन्। २०७३ पुस मसान्तसम्म ती बिमा कम्पनीको नाफा एक अर्ब १२ करोड ३७ लाख रुपैयाँ थियो।

बिमा कम्पनीहरूको नाफा बढ्दै जानुमा उनीहरूको व्यवसाय पनि बढेको संकेत भएको बिमा समितिले जानकारी दिएको छ। साथै, कम्पनीहरूको पुँजी वृद्धि योजनाका कारण बढी पुँजी लगानी हुँदा नाफा बढी देखिएको हो। हाल नेपालमा १७ वटा निर्जीवन कम्पनी सञ्चालनमा छन्।

राष्ट्रिय बिमा कम्पनीले सर्वाधिक ३७ करोड २५ लाख नाफा कमाएको छ। नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा सेयर रहेका कम्पनीको नाफा बढ्नुमा ती बैंकले वितरण गरेको नाफा पनि कारक रहेको हो।

दोस्रो स्थानमा रहेको शिखर इन्सुरेन्सले १९ करोड ६६ लाख र तेस्रो स्थानको नेको इन्सुरेन्स कम्पनीले ११ करोड ६५ लाख नाफा कमाउन सफल भएको छ।

सिद्धार्थ इन्सुरेन्सले आठ करोड ७८ लाख, लुम्बिनी जनरल इन्सुरेन्सले आठ करोड ४२ लाख, एनएलजीले सात करोड ८५ लाख, सगरमाथाले दुई करोड दुई लाख नाफा कमाएका छन्।

थोरै नाफा कमाउनेमा प्रभु परेको छ। उसले जम्मा एक करोड २९ लाख मात्रै नाफा आर्जन गरेको देखिन्छ। प्रिमियम इन्सुरेन्सले आफ्नो नाफा घटाएको छ। कम्पनीले गत आवमा सात करोड तीन लाख नाफा कमाएको थियो। तर, चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको नाफा पाँच करोड ४१ लाख छ।

दी ओरियन्टल र नेसनल इन्सुरेन्सको भने दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ। अन्नपूर्ण पोष्टबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij