२०८३ साउन १० आइतबार

विद्यार्थीले बनाए नमुना ‘स्मार्ट सिटी’ प्रदीप

ई आर्थिक    आइतबार, माघ २१ २०७४
10.5K
Shares
विद्यार्थीले बनाए नमुना ‘स्मार्ट सिटी’ प्रदीप
मेन्याङ्बो, माघ २१, २०७४, काठमाडौँ — कक्षा ९ मा पढ्ने पाँच विद्यार्थीले ‘स्मार्टसिटी’ को नमुना बनाएका छन् । चतरालाइनस्थित पब्लिक उच्च माविको मैदानमा बुधबार सुरु भएको विज्ञान प्रदर्शनी तथा शैक्षिक मेलामा उनीहरूको डिजाइन हेर्न विद्यार्थी झुम्मिएका छन् ।
पब्लिक स्कुलकै विद्यार्थीहरू संजोग बराइली, एलेक्स किरुवा, दीपेन्द्रलिम्बू, किरण खत्री र सौगात भुजेलको समूहले स्मार्ट सिटीको डिजाइन गरेर देखाएका हुन् । स्मार्टसिटीमा हुने सेन्सिबल सिस्ट भएको घरको डिजाइन बराइलीले, आधुनिक साजसज्जा किरुवाले, वाटर लेभल इन्डिकेटर सिस्टम लिम्बूले, सेन्सिबल रोडको डिजाइन खत्रीले र विद्युत् नहुँदा चलाउन सकिने हाइड्रोलिक लिफ्टको डिजाइन भुजेललेगरेका छन् ।
उनीहरूले बनाएको स्मार्टसिटीमा मानिस वा सवारी साधन चलेका बेला सेन्सिबल रोडका मुख्य बत्तीहरू आफैं बल्छन् । घरबाहिर चुपचाप कोही आएको भए भित्र बसेका मानिसलाई घरको लेजर लाइटमार्फत जानकारी दिन्छ । पानीको ट्यांकीमा पानी भरिएपछि आफै बन्द हुन्छ । बिजुली नभएको अवस्थामा पनि लिफ्ट चल्छ ।
बराइलीले भने, ‘नेताहरूले चुनावमा धरानलाई स्मार्टसिटी बनाउने भनेर भाषण गरेको सुन्यौं । कस्तो हुन्छ भनेर जिज्ञासा पलायो । अनि विभिन्न उपाय र खोजी गर्‍यौं । गुगल र युट्युबमा हेर्‍यौं र, एउटा अवधारणा बनाएर यस्तो डिजाइन बनाएका हौं ।’
सेन्सिबल रोड बनाउने किरण खत्रीले स्मार्ट सिटीमा कमभन्दा कम विद्युत् खपत गर्ने उपायपनि निकालेको बताए । उनले भने, ‘ऊर्जा खपत धेरै भइरहेको छ । कतिपयलाई पुगिरहेको छैन । उर्जा बचत गर्नका लागि सेन्सिबल रोडको अवधारणा विकास भएको हो । जसमा मानिस र सवारी साधन नभएको बेला सडकमा मुख्य बत्तीहरू बल्ने छैनन् ।’
नमुना बनाउन उनीहरूले लेजर लाइट, डाइनामो, ब्याट्री, एलइडी बल्स, कागज, तार, थर्मोकोल, क्यासिङ केवी, कार्टुन, सिरिन्ज, ट्रान्जिस्टर, प्लाइउड, फेबिकललगायत प्रयोग गरेको लिम्बूले बताए । उनले भने ‘बनाउन १० दिन लाग्यो ।’ उनीहरू पाँचै जनाको भविष्यमा आर्किटेक्ट इन्जिनियर बन्ने योजना छ । मेला अवलोकन गर्न आएकी धरान उपमहानगरपालिका उपप्रमुख मञ्जु भण्डारीले कक्षा ९ पढ्ने किशोर विद्यार्थीले स्मार्टसिटीको नमुना बनाएको देख्दा चकित भएको बताइन् । उनले भनिन्, ‘आर्किटेक्ट, इन्जिनियरहरूले गर्ने काम किशोर विद्यार्थीले बनाएर देखाए । यो उनीहरूको सिर्जनशीलता र नयाँपुस्ताले खोजेको र चाहेको नमुना डिजाइन हो ।’
विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले शैक्षिक गुणस्तर बढाउन र विद्यार्थीलाई विज्ञान र प्रविधितर्फ आकर्षित गर्न प्रदर्शनी तथा शैक्षिक मेला आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij