२०८३ साउन ९ शनिबार

भारतीय पक्षद्वारा दशगजा मिचेर सडक

ई आर्थिक    आइतबार, माघ २१ २०७४
4K
Shares
भारतीय पक्षद्वारा दशगजा मिचेर सडक
अर्जुन राजवंशी, माघ २१, २०७४, दमक — भारतीय पक्षले नेपालसँग जोडिएको दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ । कचनकवल गाउँपालिका १ पिण्डलबारीस्थित नेपाल–भारत दशगजा क्षेत्रमा एकतर्फी ढंगले निर्माण थालेको हो ।
नेपाली पक्षले निर्माण नगर्न आग्रह गरे पनि त्यसको बेवास्ता गर्दै कामलाई तीव्रता दिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना उपल्ला निकायलाई यसबारे जानकारी गराए पनि कुनै प्रतिक्रिया आएको छैन । सडक निर्माण भइरहेको दशगजा क्षेत्र बिहारको किसनगन्ज जिल्लाको धन्तोला ग्राम पञ्चायतसँग जोडिएको छ । नेपाल–भारत सीमाको १२८ देखि १२९ नम्बर पिलरसम्मको दशगजा क्षेत्र नजिकैबाट सडक निर्माणको काम भइरहेको हो । भारतीय पक्षले दशगजा क्षेत्रलाई प्रभावित गर्ने गरी कालोपत्रे सडकको योजना अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायब निरीक्षक नेत्रविक्रम रानाले दशगजा क्षेत्र छुने गरी भारतीय पक्षले सडक निर्माण गरिरहेको बताए । ‘सडक निर्माण नगर्न आग्रह गरे पनि भारतीय पक्षले बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘सुरुवातमै हामीले यो दशगजा क्षेत्र हो, यहाँ सडक निर्माण नगर्नुस् भनेर आग्रह गरेका थियौं । तर, अटेरी गरेर बाटो बनाइरहेका छन् ।’ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) घेराबारीका निरीक्षक आनन्द महतोले पनि दशगजा क्षेत्रमा सडक निर्माण भइरहेको बताए । ‘हामीले स्थलगत अवलोकनपछि काम रोक्न आग्रह गरेका थियौं,’ उनले भने । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय (सिसुका) का एसपी रमेश सुवेदीले दशगजा क्षेत्रमा सडक बनाइरहेको बारे ५ दिनअघि दुवै देशका सुरक्षा निकाय दशगजा क्षेत्रमै गएर छलफलसमेत गरेको जानकारी दिए । ‘उक्त छलफलमा दशगजा क्षेत्रमा सडक निर्माण नगर्ने मौखिक सहमति भएको थियो,’ उनले भने ।
भारतीय पक्षले दशगजा क्षेत्र नजिक एक्साभेटर लगाएर एकापट्टि माटो पुरेको छ । करिब ६ सय मिटरमा माटो पटान गरेपछि नेपाली पक्षले खबर पाएको थियो । संयुक्त सुरक्षा बैठकमा भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा निर्माण भइरहेको सडक रोक्न लगाउने आश्वासन दिएका थिए ।
उक्त सडक निर्माणको ठेक्का धन्तोला ग्राम पञ्चायतका सदस्य बताउने तेजनारायण गिरीले लिएका छन् । सुरक्षा निकायसँगको छलफलमा गिरीले स्थानीय निकायको बजेटबाट बाटो बनाउन थालेको जानकारी दिएको सशस्त्रका एसपी सुवेदीले बताए । सीमा स्तम्भ नभएको क्षेत्रमा सडक निर्माणको काम भइरहेकोले विवादित बनेको छ । सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्रमा कुनै पनि राष्ट्रले भौतिक पूर्वाधार निर्माण गर्न मिल्दैन । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij