२०८३ साउन ९ शनिबार

प्रदेश संसद्को अभ्यास सुरु : हेटौंडामा संघीय सपना, अन्तरिम कार्यविधि पास गर्दै सभामुख चयनको मिति घोषणा

ई आर्थिक    शुक्रबार, माघ १९ २०७४
5.9K
Shares
प्रदेश संसद्को अभ्यास सुरु : हेटौंडामा संघीय सपना, अन्तरिम कार्यविधि पास गर्दै सभामुख चयनको मिति घोषणा

कृष्ण सारु मगर/दिवाकर भण्डारी, शुक्रवार, माघ १९, २०७४, हेटौंडा : संघीय नेपालको पहिलो प्रदेशसभा बैठक हलमा राष्ट्रगान बज्दा कांग्रेस सांसद सन्त चेपाङका आँखा रसाएका थिए। गला अवरुद्ध भएको थियो। रोस्ट्रममा माइकको धुनसँगै चेपाङका ओठ ‘सयौं फूलका थुंगा हामी’ गुन्गुनाइरहेका थिए। मन भने मकवानपुरको विकट काँकडास्थित आफ्नो गाउँ धिराङतिर उड्दै थियो। ‘खाली खुट्टा भीरपाखा गर्दै डोको बेचेर जीवन गुजारा गर्ने म सीमान्तकृत चेपाङ आज प्रदेशको संसद् बैठकमा छु’, अन्नपूर्णसँग उनले भावना साटे, ‘यो मेरो लागि मात्र होइन मेरो समुदायको लागि पनि गर्वको कुरा हो।’

प्रदेश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभाको पहिलो अधिवेशन हेटौंडामा बिहीबार सुरु भएको हो। प्रदेश ३ को अस्थायी मुकाममा पहिलो अधिवेशन सुरु भएसँगै अब प्रदेश संसद्को अभ्यास अघि बढेको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालमा निर्वाचनमा विजयी भएको दुई महिनापछि पहिलो बैठकमा सहभागी हुँदै गर्दा प्रदेशसभा सदस्यको मुहारमा छुट्टै रौनक देखिन्थ्यो। दिउँसो १ बजे सुरु भएको बैठक प्रदेशसभा सभामुख चयनको मिति घोषणा गर्दै डेढ घण्टामा सकिएको थियो।

बैठक सुरु भएलगत्तै सभामुखको आसनबाट ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।

लगत्तै प्रदेश ३ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनि सभाध्यक्ष पौडेलले बैठकमा निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो। पारित उक्त कार्यविधिमा बैठक सञ्चालन, सभामुखको काम कर्तव्य, कार्यव्यवस्था परामर्श समिति गठन, प्रदेशसभा सदस्यहरूको आचारसंहितालगायत विषय समेटिएका छन्।

सभामुखको आसनबाट पौडेलले बैठकबाट माघ २७ गते दिउँसो ३ बजे सभामुख चयनको मिति घोषणा गरेका छन्। सभामुख चयनपछि मात्र उपसभामुख चयन गर्ने अभ्यास छ। बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, घनश्याम दहाल, गीता वाग्ले र शोभा शाक्यलाई तोकिएको छ।

पहिलो बैठकको समाचार संकलन गर्न ठूलो संख्यामा सञ्चारकर्मी पनि उपस्थित थिए। संसद् बैठकको भिडियो खिच्न सञ्चारकर्मीलाई रोक लगाइएको थियो। सञ्चारकर्मीलाई फोटो खिच्न सीमित समय दिएर हलमा प्रवेश दिइएको थियो।

बैठक कक्षको सुरक्षाका लागि ३० जना मर्यादापालक खटाइएको थियो। सुरक्षाका लागि दोस्रो घेरामा तालिमप्राप्त कुकुरसहित बम डिस्पोजल टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

बैठकमा प्रदेश ३ मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका एक/एक जना प्रदेशसभा सदस्यलाई अग्रभागमा आसनको व्यवस्था गरिएको थियो। बैठक स्थलमा प्रदेश प्रमुख सचिवसहित विशिष्ट व्यक्ति र सञ्चारकर्मीलाई बैठक हलको पछाडि बस्ने व्यवस्था गरिएको थियो।

 समृद्ध प्रदेश बनाउने प्रतिबद्धता

प्रदेशसभाको पहिलो बैठकमा प्रदेशसभा प्रतिनिधित्व गर्ने सात दलका एक/एक जना सदस्यले बैठकलाई सम्बोधन गरेका थिए। उनीहरूले प्रदेश ३ लाई देशकै समृद्ध प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेशसभाको ठूलो दल एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सात प्रदेशमध्ये प्रदेश ३ ले बैठकको सुरुवात गर्नु आफैंमा ऐतिहासिक रहेको बताइन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रपछि प्रदेशसभा सुरुवाती चरणमा छ। यसलाई व्यवस्थित तरिकाले अघि बढाउनु सबैको जिम्मेवारी हो’, उनले भनिन्, ‘यसका लागि सहकार्य र सहमतिको राजनीति गर्न म सबैलाई अनुरोध गर्छु।’

माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमकट्टेलले लामो समयको संघर्षले अन्ततः मूर्तरूप पाएको बताए। ‘नेपाल नयाँ शासन व्यवस्थामा अघि बढेको छ। यसलाई अवसर र चुनौती दुवैका रूपमा हामीले लिनुपर्छ’, उनले भने, ‘सबैको एउटै लक्ष्य मुलकको समृद्धि हुनुपर्छ।’

कांग्रेसका प्रदेशसभा सदस्य ईन्द्र बानियाँले संघीयता कार्यान्वयन भएको उल्लेख गर्दै अब यसलाई फलाउने फुलाउने थप जिम्मेवारी जनताले हामीलाई दिएका स्मरण गरे।

उनले भने, ‘कांग्रेस सत्तामा रहँदा होस् वा बाहिर, देशप्रति जिम्मेवार भएर अघि बढ्छ।’

विवेकशील साझा पार्टीका रमेश पौडेलले मुख्य राजनीतिक मुद्दाहरू सकिएकाले अब विकासको राजनीति हुनुपर्ने बताए।

नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र गोसार्इं, राप्रपा प्रजातान्त्रिककी रिना गुरुङ र नयाँ शक्ति पार्टी नेपालका प्रेमबहादुर तामाङले समग्र विकासका निम्ति प्रदेश ३ ले महŒवपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकल प्रतिनिधित्व गरेकी समानुपातिक प्रदेशसभा सांसद रिता माझीले पार्टीले आफूलाई जिम्मेवारी दिएर पठाएकोमा खुसी व्यक्त गर्दै प्रदेश सांसदको जिम्मेवारी सकारात्मक ढंगले पूरा गर्ने बताइन्।

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी

प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन्। प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे।

मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका हुन्।

प्रदेशसभा बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिका मात्रै नभई त्यसभन्दा माथिको जिम्मेवारी (मुख्यमन्त्री) दिए पनि आफूले पूरा गर्ने बताए।

उनले सभामुखको भूमिका निर्वाह गर्दा फरक अनुभूति भएको सुनाए। ‘निकै उत्साहित थिए, सहजै सम्पन्न पनि गरेको छु’, हेटौंडा नगरपालिकामा दुई पटक मेयरमा निर्वाचित पौडेलले भने, ‘बैठकको अध्यक्षता गर्न मैले पूर्वतयारी गरेको थिए, त्यसैले मलाई सहज भयो।’

प्रदेश मुख्यमन्त्रीका लागि भने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता राजेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा छ।

पौडेलले मुख्यमन्त्रीको चर्चा गरिरहँदा बैठकस्थलबाट दुई आकांक्षी शाक्य र पाण्डे बाहिरिँदै थिए।

दुवैले पहिलो बैठक ऐतिहासिक रहेको भन्दै प्रदेश मुख्यमन्त्रीको दौडमा आफू अघि रहेको प्रतिक्रिया दिए। मुख्यमन्त्रीको बढी चर्चामा रहेकी शाक्यले आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिए त्यसलाई सहज ढंगले पूरा गर्नेमा आशावादी रहेको बताइन्। ‘यो प्रदेशमा मभन्दा वरिष्ठ नेता छैन, त्यसमाथि महिला मुख्यमन्त्री हुने एउटा मात्र प्रदेश यही मात्र देखिएको छ’, उनले भनिन्, ‘मलाई पार्टीले उम्मेदवार बनाउनेमा ढुक्क छु।’

पार्टीभित्र अन्य आकांक्षी रहे पनि सर्वसम्मत रूपमा आफ्नो पक्षमा निर्णय हुने उनको भनाइ थियो।

वाम गठबन्धनको निर्णयअनुसार प्रदेश ३ को मुख्यमन्त्रीको भाग एमालेले पाएपछि पार्टीले चाँडै निर्णय गर्ने शाक्यले बताइन्।

उनले पार्टीभित्र सर्वसम्मत हुन नसके निर्वाचन प्रणालीबाट मुख्यमन्त्री टुंगो लाग्ने बताइन्। ‘सर्वसम्मतको प्रयास हुन्छ, सहमति हुन नसके निर्वाचनबाट मुख्यमन्त्री टुंगो लाग्नेछ।’

मुख्यमन्त्रीका अर्का आकांक्षी पाण्डेले पनि सहमति हुन नसके निर्वाचनबाटै उम्मेदवारको टुंगो लगाउनुपर्ने बताए। ‘हामी दुवै दौडमा छौं, अहिले कसले पाउने भन्ने छैन। हामीभन्दा माथि पार्टी छ, पार्टीले टुंगो लगाउनेछ’, पाण्डेले भने, ‘सहमति भएन भने निर्वाचन हुन्छ र आधिकारिक उम्मेदवार छानिनेछ।’

प्रदेश ३ मा एमाले एक्लैको बहुमत छ। प्रदेशसभामा एमालेबाट ५८, माओवादी केन्द्रबाट २३, कांग्रेसबाट २१, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीबाट २, नयाँशक्ति नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकबाट एक/एक गरी एक सय १० प्रदेशसभा सदस्य छन्।

संघीय सपनाले पूर्णता पाएको ऐतिहासिक दिन बिहीबार संसद् छिर्ने अधिकांश माननीय युवा देखिन्थे। सीमान्त वर्ग, समूदायबाट प्रतिनिधित्व गर्नेको पनि बाहुल्य थियो।

राप्रपा (प्रजातान्त्रिक) की प्रदेशसभा सदस्य रिना गुरुङले नयाँ पुस्ताको जोस जाँगर र पुरानो पुस्ताको अनुभवलाई मिलाएर देश विकास गर्नुपर्ने बताइन्। ‘मैले प्रदेशसभामा युवापुस्ताको बाहुल्य देखें, यो राम्रो पक्ष हो’, उनले भनिन्, ‘म मात्र होइन पहिलो पटक संसद् बैठकमा सहभागी धेरै युवा साथी उत्साहित हुनुहुन्छ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij