२०८३ साउन ९ शनिबार

नेपाल र भारत दुई देशलाई छुट्टयाउने ५० प्रतिशत सीमा स्तम्भ हराए

ई आर्थिक    शुक्रबार, पौस २८ २०७४
4.4K
Shares
नेपाल र भारत दुई देशलाई छुट्टयाउने ५० प्रतिशत सीमा स्तम्भ हराए

मनिका झा, बिहीबार, पुस २७, २०७४, जनकपुरधाम : नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन्। सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो।

सर्वेक्षणको प्रारम्भीक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेको पाइएको छ। सप्तरीको कोशी नदीदेखि रौतहट जिल्लासम्म दुई हजार दुई सय ७० वटा ठूला, साना र मझौला पिलर गाडिएका थिए। तर सर्वेक्षणका क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जिर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुंगानाले जानकारी दिए।

सप्तरीदेखि धनुषासम्म गाडिएका १५ सय २९ पिलरमध्ये जंगी, प्रमुख, मझौला, साना, सवसिडरी र आईरन पिलर छन्। सर्वेक्षणमा जंगी पिलर १० देखि १५ वटासम्म मात्र भेटिएका छन्।

सीमामा रहेको दशगजा क्षेत्रमा मुसहर तथा विभिन्न जातिको बसोबास भएपछि पिलरहरू भाँचिएको र कतिपय उपयोग विहिन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए।

कतिपय पिलरहरू नदीमा आएको बाढीले बगाउँदा बालुवा–माटोले पुरिएको र कतिपय पिलर मानिसले उखेलेर फालिदिएको कारण पिलरहरू पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। अब सव–सिडरी पिलर बनाईने छ। यो पिलर २.४ मिटरको हुनेछ। यसको आधा भाग जमिनमुनि गाडिने छ।

सीमा सर्वेक्षणका लागि मेचीदेखि महाकालीसम्म छुट्टाछुट्टै चारवटा टोली खटिएका छन्। पुस १० गतेबाट सप्तरीदेखि चितवनसम्मको सर्वेक्षण थालिएको टोली नम्बर २ ले कोशी नदीको २ सय ११ नम्बरको प्रमुख पिलरदेखि सुरु गरेको सर्वेक्षण चितवनको ३ सय ५६ नम्बरको पिलर सम्म सर्वेक्षण गर्ने जिम्मेवारी पाएको छ। माघ ६ भित्र आआफ्ना टोली प्रमुख समक्ष प्रतिवेदन बुझाउने छन्। त्यसपछि दुवै देशका अधिकारीको उपस्थितिमा नयाँ पिलर गाडिनुका साथै जिर्ण पिलरको ममर्त सम्भार गरिने सर्वेक्षकहरुको भनाइ छ।

टोली नम्बर २ को कार्यालय नेपाली पक्षको वीरगञ्जमा र भारतीय पक्षको कार्यालय सिमावर्ती क्षेत्र रक्सौलमा राखिएको छ। सर्वेक्षक ओश्वाल र ढुंगानाका अनुसार बारा र पर्सा जिल्लामा सर्वेक्षण पुरा भइ पिलर फेरिने र मर्मत सम्भार गर्ने कार्य जारी छ। दुवै देशको सर्वेक्षण टोली नम्बर १ को भारतीय पक्षको कार्यालय किशनगञ्ज र नेपाली पक्षको कार्यालय झापामा राखिएको छ।

त्यसैगरी टोली नम्बर ३ को नेपाली पक्षको कार्यालय कपिलवस्तु र भारतीय पक्षको सिमापारी रहेको छ भने, टोली नम्बर ४ को कञ्चनपुर जिल्लाको वारि र पारि छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको छ। १० वर्षे योजना अन्तर्गत सर्वेक्षण कार्य सुरु भएको हो। तीमध्ये ४ वर्ष वितिसकेको छ। सन् २०१७ डिसेम्बर २५ तारिखदेखि टोली नम्बर २ सुरु गरेको कामको प्रतिवेदन २०१८ जनवरी २० सम्ममा बुझाउँनेछ भने मई २०१८ सम्ममा सम्पूर्ण सर्वेक्षण कार्य सकिनेछ। टोली नम्बर २ को नेपालतर्फ १३ जना तथा भारतीयतर्फका १६ जना सर्वेक्षणमा खटिएका छन्। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij