भक्तपुर, पुस २५ –जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गरेको छ ।
मंगलबार नगरपालिकामा आयोजना गरेको स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले नगरपालिका क्षेत्र भित्र पर्ने एक प्राथमिक स्वास्थ्य केन्द्रसहित सातवटा स्वास्थ्य चौकी हस्तान्तरण गर्नुभएको हो ।
संविधानमा व्यबस्था भएअनुसार स्थानीय निकायलाई स्वास्थ्य संस्थाहरु हस्तान्तरण गर्नुपर्ने प्रावधान अनुरुप उपत्यकामा पहिलो पटक भक्तपुरको चाँगुनारायण नगपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो । जनस्वास्थ्य कार्यालयबाट संचालित हुँदै आएको स्वास्थ्य चौकीको सम्पूर्ण जिम्मेवारी र दायित्व अब नगरपालिकाको हुने भएको छ ।
नगरपालिकालाई स्वास्थ्य चौकीको जनशक्तिदेखि भौतिक पूर्वाधार, औषधि, चलअचल सम्पत्ति हस्तान्तरण गरिएको हो । नगरपालिकाले स्वास्थ्य चौकीको व्यबस्थापन गर्र्नुपर्ने व्यबस्था भए अनुसार सरकारले यसअघि नै नगरपालिकाहरुलाई औषधि खरिदलगायतका विभिन्न शिर्षकमा बजेट पठाइसकेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संविधानले व्यबस्था गरे अनुसार जिल्लाका विषयगत सरकारी कार्यालय नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भएकाले नगरपालिकालाई थप जिम्मेवारी आएको बताउनुभयो । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गर्दै चुस्त रुपमा जनस्वास्थ्य कार्यालय संचालन गर्ने बताउनुभयो ।
त्यसअवसरमा जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले जिल्लाका चारवटै नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गर्न तयार रहेको भन्दै नगरपालिकाले दायित्व लिन ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।