२०८३ साउन ९ शनिबार

घट्यो अन्तरबैङ्क कारोबार, वाणिज्य बैङ्कको ३ खर्ब २१ अर्बमा सीमित

ई आर्थिक    सोमबार, पौस १० २०७४
1.7K
Shares
घट्यो अन्तरबैङ्क कारोबार, वाणिज्य बैङ्कको ३ खर्ब २१ अर्बमा सीमित

गतवर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४ खर्ब ३३ करोड रुपैयाँको अन्तरबैङ्क कारोबार गरेका थिए । चालू आवको कात्तिक मसान्तमा भने त्यस्तो कारोबार ३ खर्ब २१ अर्ब १० करोडमा खुम्चिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । यसले गत आवको तुलनामा चालू आवको पहिलो ४ महीनामा बैङ्किङ प्रणालीमा लगानीयोग्य पूँजी पर्याप्त रहेको जानकारहरू बताउँछन् ।

गत आवको तुलनामा समीक्षा अवधिमा अन्तरबैङ्क कारोबारसँगै त्यस्तो कारोबारमा लाग्ने ब्याजदर पनि घटेको छ । गत कात्तिकमा अधिकतम ३ दशमलव ५९ प्रतिशतसम्म पुगेको भारित औसत अन्तरबैङ्क दर चालू आवको सोही अवधिमा २ दशमलव ६८ प्रतिशत मात्र रहेको छ । गत आवको शुरूमा बजारमा लगानीयोग्य रकम न्यून हुँदा बैङ्क तथा वित्तीय संस्थाले बढी ब्याजदरमै भए पनि एकअर्काबाट सापट लिएका थिए ।

वाणिज्य बैङ्कबाहेकका अन्य वित्तीय संस्थाको अन्तरबैङ्क कारोबार पनि गत आवको तुलनामा १ खर्ब १३ अर्ब ५२ करोड रुपैयाँले घटेको छ । ती वित्तीय संस्थाले गतवर्षको कात्तिकसम्म रू. १ खर्ब २० अर्ब ७५ करोडको यस्तो कारोबार गरेका थिए । चालू आवको सोही अवधिमा उनीहरूले रू. ७ अर्ब १८ करोडको मात्र अन्तरबैङ्क कारोबार गरेका छन् । ती संस्था बीचको अन्तरबैङ्क दर चालू आवको कात्तिक मसान्तसम्ममा अधिकतम ४ दशमलव २५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा उक्त ब्याजदर अधिकतम ५ दशमलव शून्य ८ प्रतिशत थियो ।

यद्यपि अहिले बजारमा गतवर्षको जस्तै तरलतामा कमी आएको टिप्पणी हुन थालेको छ । तर, अन्तरबैङ्क कारोबारको ब्याजदरको अवस्थालाई विश्लेषण गर्दा बजारमा लगानीयोग्य रकमको कमी नभएको पुष्टि हुन्छ । यता, नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका अनुसार भने १ महीना अघिसम्म बजारमा ७० अर्ब रुपैयाँ अधिक तरलता भएकोमा अहिले यो झरेर २७ अर्ब रुपैयाँमा पुगेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij