मंसिर २५, २०७४ । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ ।
लैंगिक हिंसा अन्त्य गर्न सहयोग पु¥याउने उद्देश्यले सो हेल्पलाइन सञ्चालनमा ल्याइएको हो ।
सोह्र दिने लैंगिक हिंसा विरुद्धको अभियान समापनका अवसरमा आईतवार सो हेल्पलाइन “खबर गरौ ११४५”को महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गर्नुभएको हो ।
उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि सरकार सधैँ प्रतिबद्ध रहेको चर्चा गर्दै निःशुल्क हेल्पलाइन ११४५ ले पनि यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महिला हिंसा अन्त्यका लागि १६ दिने औपचारिक कार्यक्रममा मात्र केन्द्रित नभई नगरपालिका, गाउँपालिका र वडा–वडामा यस्ता कार्यक्रम सञ्चालन गरी चेतना जगाउनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले महिला हिंसा अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने र त्यसका लागि महिला सहभागिता बढाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले महिला हिंसा अन्त्यका लागि महिलाको सम्पत्तिमाथिको अधिकार, शिक्षाजस्ता विषयमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले ऐन निर्माण गरेर महिला हिंसा अन्त्य गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
महिला अधिकारकर्मी चाँदनी जोशीले आफूले ५० वर्षदेखि महिला हिंसाविरुद्ध आवाज उठाउँदै र महिला सशक्तीकरणमा निरन्तर लागिरहने बताउनुभयो ।
विगत १२ महिनाको अवधिमा लैंगिक हिंसा भोगेकामध्ये ९६ प्रतिशत पीडित महिलाले विवाह, दशँै, मेला र पर्वका बेलामा हुने बताएको आयोगको तथ्यांकमा उल्लेख छ ।