२८, कार्तिक, २०७४ । विगत केही दिनदेखि बाम नेताहरुलाई एक पछि अर्को गर्दै आक्रमणको निशानामा पर्दै आएका छन । पूर्वमन्त्रीहरु जनार्दन शर्मा, बर्षामान पुनलगायतका नेताहरुलाई आक्रमण गरेको केही दिन नवित्दै एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको छ ।
चुनावी सभामा जाँदै गर्दा भाजपुरको ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा मंगलबार बिहान १० बजे अपरिचित समूहले बम हानेका थिए । बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् । उक्त घटनालाई प्रतिकार गर्दै सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् ।

यसैबीच यस घटनालाई लिएर एमालेले भत्र्सना गरेको छ । एमाले अध्यक्ष ओलीले एमाले प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि साङ्घातिक आक्रमणको भर्त्सना गरेका हुन ।
निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमणलाई आफ्नो पार्टीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको ओलीको बताएका छन । ‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ,’ ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सरकारलाई सचेत गराएको पनि विज्ञप्तीमा उल्लेख छ ।

सत्ताधारी दलका उम्मेदवार वरिपरि अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले आश्चर्य चकित बनाएको ओलीले बताएका छन ।
ओलीले आपराधिक घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । उनले घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेका छन ।