ममता थापा, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर मार्जिन कर्जा लिइरहेका लगानीकर्ताले अब धितोपत्र दलाल व्यवसायी (ब्रोकर)बाट प्रत्यक्ष मार्जिन कर्जा लिन पाउने भएका छन् । लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीबाट अन्तरराष्ट्रिय मूल्य र मान्यताअनुरूपको मार्जिन कारोबार शुरू गर्न गरेको मागलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले ब्रोकरलाई मार्जिन कारोबार गर्न दिने व्यवस्थाले गरेको हो र यससँगै लगानीकर्तामा केही उत्साह आउने र निरन्तर ओरालो लागिरहेको शेयर बजारमा सुधारको अपेक्षा गरिएको छ ।
उक्त व्यवस्था कार्यान्वयन बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरीे ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ जारी गरेको हो । मार्जिन कारोबार गर्न बोर्डले धितोपत्र दलाल व्यवसायीलाई १० बुँदे निर्देशन दिएसँगै ब्रोकरको कार्यक्षेत्रसमेत विस्तार भएको छ । बोर्डको आव २०७४/७५ को नीति तथा कार्यक्रममा समेत रहेको लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने र ब्रोकरको कार्यक्षेत्र बढाउन उक्त निर्देशन जारी गरेको बोर्डको भनाइ छ ।
बोर्डले नयाँ व्यवस्था गरे पनि हाल नेपाल राष्ट्र बैङ्कको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेण्डिङका रूपमा रहेको शेयर धितो कर्जा भने यथावत् रहनेछ । बोर्डका अनुसार यस निर्देशनबाट मार्जिन कारोबार सम्बन्धमा स्पष्ट रूपमा नीतिगत व्यवस्था भई मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आई दोस्रो बजारमा नयाँ अध्याय थपिनेछ । यसले दोस्रो बजारको तरलतामा अभिवृद्धि हुने, लगानीकर्तालाई शेयर खरीद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरासमेत फराकिलो हुन गई धितोपत्र कारोबार बढी गतिशील हुने बोर्डको अपेक्षा छ ।
महत्त्वपूर्ण व्यवस्था
- कम्तीमा १० हजार शेयरधनी र नेटवर्थ सकारात्मक रही पछिल्लो २ वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत सङ्गठित संस्थाको शेयरमा कर्जा पाउने ।
- मार्जिन कर्जा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुनुपर्ने ।
- शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशत रकमको मात्र मार्जिन पाइने ।
- बजारको अवस्था तथा जोखीम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेण्टिनेन्स मार्जिन लिनुपर्ने ।
- मेण्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो शेयर विक्री गर्न सक्ने ।
- बैङ्कसँग सापट लिएर पनि मार्जिन सुविधा प्रदान गर्न सक्ने ।
- दलाल कम्पनीको प्रमाणित नेटवर्थको दुई गुणासम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने ।
- एकल ग्राहक तथा निजको एकाघरका सदस्यलाई नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र मार्जिन सुविधा ।
- दलाल व्यवसायीले ग्राहकसँग लिने सेवा शुल्कलगायत शर्त सम्झौतामा खुलाउनुपर्ने ।
- मार्जिन सुविधाअन्तर्गत खरीद शेयरको विवरण छुट्टाछुट्टै अभिलेख राखी लेखापरीक्षण गराई बोर्डमा पेश गर्नुपर्ने । आर्थिक अभियानबाट