१५ कात्तिक, काठमाडौं । स्थानीय तहले पर्यटन शुल्क उठाउन नपाउने भएका छन् । सबै नगरपालिका तथा गाउँ पालिकाको नाममा निर्देशन जारी गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पर्यटन शुल्क असुल्नमा रोक लगाएको हो ।
केही तहले आन्तरिक र बाह्य पर्यटकसँग आफूखुशी शुल्क असुल्न थालेको गुनासो आएपछि मन्त्रालयले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत शुल्क तथा दस्तुर लिन मिल्दैन ।’ माननीय राज्यमन्त्रीस्तरको निर्णयअनुसार भन्दै जारी गरिएको निर्देशनमा भनिएको छ– ‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार पदयात्रा तथा पर्यटन शुल्कको दर प्रदेशले निर्धारण र संकलन गर्छ ।’
उद्यान, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा र संग्रहालयको मात्रै शुल्क स्थानीय निकायले निर्धारण गर्न सक्ने मन्त्रालयको उक्त निर्देशनमा उल्लेख गरिएको छ ।