२०८३ साउन ११ सोमबार

स्थानीय तहले होटलको वर्गीकरण गर्ने

ई आर्थिक    शनिबार, कार्तिक ११ २०७४
5.5K
Shares
स्थानीय तहले होटलको वर्गीकरण गर्ने
  • -कमिटीको सिफारिसको आधारमा वर्गीकरण हुने
  • -निर्देशिकाअनुसार अब स्थानीय तहले अनिवार्य रूपमा होटल/रेस्टुरेन्ट/ खाजाघरको अनिवार्य रूपमा वर्गीकरण गर्नुपर्नेछ
  • -अति उत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइने

राजु चौधरी, काठमाडौं, कार्तिक ११, २०७४-स्वच्छताको आधारमा स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका होटलको वर्गीकरण गर्नुपर्ने भएको छ । होटल/रेस्टुरेन्टलाई ‘तारा चिह्न’ बाट वर्गीकरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थानीय तहमा कमिटी गठन गर्ने भएको छ । स्वच्छताका आधारमा वर्गीकरण गर्न कृषि मन्त्रालयले स्वीकृति दिएपछि कमिटी गठन गर्न लागेको हो ।

विभागले केही साताअघि उपभोक्ताको स्वास्थ्य तथा सुविधाका लागि खाद्य नियमावली २०२७ को नियम ३३ (क) अनुसार खाद्य स्वच्छताको आधारमा होटल रेटुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४’ तयार गरी मन्त्रालयमा पेस गरेको थियो । उक्त निर्देशिका मन्त्रालयबाट स्वीकृत भएको हो । निर्देशिकाअनुसार अब स्थानीय तहले अनिवार्य रूपमा होटल/रेस्टुरेन्ट/ खाजाघरको अनिवार्य रूपमा वर्गीकरण गर्नुपर्नेछ ।

‘वर्गीकरण गर्न तयार पारेको निर्देशिका मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको छ,’ विभागका महानिर्देशक महानिर्देशक सञ्जीव कर्णले भने, ‘प्रभावकारी कार्यान्वयन लागि स्थानीयस्तरमा एक साताभित्र कमिटी गठन गर्छौं ।’ उनका अनुसार विभागका प्रतिनिधि सदस्य सचिव रहने गरी स्थानीय तह प्रमुखको अध्यक्षतामा कमिटी गठन गरिनेछ । कमिटीमा होटल/रेस्टुरेन्टलगायत खाद्य व्यवसायी महासंघले तोकेको स्थानीय प्रतिनिधि, उपभोक्ता हकहित सम्बद्ध संस्थाका प्रतिनिधि, इलाका/वडा प्रहरी कार्यालयको प्रतिनिधि, स्थानीय सेवा प्रदायक खाद्य व्यवसाय सञ्चालक रहने जनाएको छ ।

कमिटीका प्रतिनिधिले होटल, रेस्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याटरिङ एवं क्यान्टिनलगायत क्षेत्रमा अनुगमन गर्छ । अनुगमन र प्रतिवेदनको आधारमा विभागले होटल/रेस्टुरेन्टलाई ‘तारा चिह्न’ उपलब्ध गराउने जनाएको छ । ‘कमिटीले विभिन्न होटल/रेस्टुरेन्टमा अनुगमन र मूल्यांकन गर्छ । प्रतिवेदन बनाएर वर्गीकरण चिह्नका लागि केन्द्रीय/क्षेत्रीय कार्यालयमा सिफारिस गर्छ,’ महानिर्देशक कर्णले भने, ‘सोही प्रतिवेदनको आधारमा ‘तारा चिह्न’ दिन्छौं ।’ हाल आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले र खाद्य प्रविधि विभागले दैनिकजसो अनुगमन गरे पनि होटल/रेस्टुरेन्टमा सुधार हुन सकेको छैन ।

होटल व्यवसायीले मनपरी मूल्य असुले पनि अधिकांशमा स्वच्छ खाने कुरा पाइँदैन । होटल/रेस्टुरेन्टमा तारा चिह्न कार्यान्वयन भए उपभोक्ता स्वयंले होटलहरू छनोट गर्न पाइने विभागको ठहर छ । होटल वर्गीकरणका लागि विभागले ५० वटा प्रश्नावाली तयार गरेको छ । वर्गीकरण गर्दा होटलको बाहिरी परिधि सफा तथा फोहोरमुक्त भए/नभएको, भुइँ, भित्ता र सिलिङ नसोस्ने, सजिलै सफा गर्न सकिने किसिमले बनाइएको/नबनाइएको र तिनीहरू ठीक अवस्थामा रहे/नरहेको, खाद्य वस्तुको सम्पर्कमा आउने स्थलहरू उपयुक्त सामग्री प्रयोग गरी निर्माण गरिएको/नगरेकोलगायत मूल्यांकन गरिनेछ ।

सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादीलाई खानेकुराभन्दा टाढा, लेबल लगाई उपयुक्त तवरले भण्डारण गरिएको, खाडल नाली तथा चर्पीबाट बग्ने सबै फोहोर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित प्रणालीमा जोडिएको हेरिने जनाएको छ ।

सोही आधारमा अति उत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइने महानिर्देशक कर्णले बताए । निर्देशिका अनुसार ९० प्रतिशतभन्दा बढी अक प्राप्त गर्ने होटललाई तीन तारा उपलब्ध गराइनेछ । ८० भन्दा माथि ८९ प्रतिशत अंक प्राप्त गर्नेलाई दुई तारा र ६५ देखि ७९ प्रतिशत अंक प्राप्त गर्नेलाई एक तारा उपलब्ध गराइने जनाएको छ । ५० देखि ६४ प्रतिशत अंक प्राप्त गर्नेलाई सामन्यअन्तर्गत वर्गीकरण गरिनेछ । उक्त होटललाई पहेँलो स्टिकर दिने जनाएको छ ।

उक्त प्रमाणपत्र/लोगोको समय अवधि एक वर्ष हुन्छ । निर्देशिकाअनुसार अनुगमन टोलीले लोगो वा प्रमाणपत्र प्रदान गरेको होटल/रेस्टुरेन्टको पुन: फलोअप अनुगमन/निरीक्षण गर्दा निर्धारित खाद्य स्वच्छता कायम नगरेको नपाइएमा लोगो तथा प्रमाणपत्र कुनै पनि बेला फिर्ता, जफत हुन सक्छ । विभागले यसअघि पनि हरियो, पहेँलो र रातो स्टिकर लगाउने जनाएको थियो । तर, प्रभावकारी हुन सकेन । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij