२०८३ साउन ९ शनिबार

जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

ई आर्थिक    बुधबार, असोज २५ २०७४
3.3K
Shares
जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

२०७४ असोज २५ बुधबार, खोटाङ, २५ असोज :  जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ ।

निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इञ्जिनियर सीताराम कार्कीले बताउनुभयो ।

करिब रु १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल निर्माणले खोटाङ्गे जनतामा ठूलो आशा जगाएको छ । जयरामघाटमा अहिले पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता छ । जयरामघाटको पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला हुने सांसद पाँचकर्ण राई (पिके) ले बताउनुभयो । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको हुलास इञ्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले लिएको थियो ।

२०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए । करिब १५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले दाबी गर्नुभयो ।

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij