२०८३ साउन ९ शनिबार

पार्टी एकताको प्रस्ताव आफैँले राखेको अध्यक्ष दाहालको खुलासा

ई आर्थिक    शनिबार, असोज २१ २०७४
3.2K
Shares
पार्टी एकताको प्रस्ताव आफैँले राखेको अध्यक्ष दाहालको खुलासा

काठमाडाैँमा शनिबार  आयोजित सो पार्टीको पोलिटब्युरो राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्दे उनले यस्तो खुलासा गरेका हुन् । एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकतासम्मको निर्णयमा पुग्न सफल भएको अध्यक्ष दाहालको भनाइ थियो ।

पोलिटब्युरो सदस्यमाझ अध्यक्ष दाहालले भने, ‘समाजवादी क्रान्तिको अभियान घिसेपिटे तवरले चल्दैन भन्नेमा हामी पनि पुगेका थियौँ । एमालेका तर्फबाट पनि वामपन्थी आन्दोलनलाई नयाँ आधारमा अगाडि बढाउने भन्ने प्रस्ताव आयो । उहाँहरु माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने तहमा आइपुग्नुभयो र एकता संयोजन समिति गठन भयो ।’

उपाध्यक्ष वामदेवसँग आफ्नो लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र सो सम्बन्धले पनि एकता प्रक्रियामा सहयोग पुगेको भन्दै अध्यक्ष दाहालले विगतमा पनि तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र झलनाथ खनालसँग पार्टी एकताका विषयमा पटकपटक छलफल भएको स्मरण गरे ।

संविधानले व्यवस्था गरेको समाजवाद लागू गर्न सानोतिनो शक्तिले काम नगर्ने भन्दै उनले बृहत् वाम ध्रुवीकरणले मात्रै नेपाली जनताको यो महान् लक्ष्य प्राप्त हुने विश्वासका साथ एकता प्रक्रिया अगाडि बढाउन आफूहरु सहमत भएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले पार्टी एकतालाई समयको आवश्यकता र राष्ट्रिय चाहनाको संज्ञा पनि दिए । उनले भने, ‘माओवादीभित्र कसरी भयो यस्तो सोच्दै नसोचेको काम भन्ने आशंका छ । यो सफल हुन्छ त भन्ने चिन्ता र चासो पनि छ । तर चुनौती उठाएरै एकता प्रक्रियामा सहभागी हुन लागिएको हो । यसले नेपाल र नेपाली जनताको हित गर्छ । आशंका गर्नुको कुनै अर्थ रहँदैन ।’

स्थानीय तहको निर्वाचनका क्रममा नै एमालेबाट तालमेलको प्रस्ताव आएको स्मरण गर्दै अध्यक्ष दाहालले चार महानगरमध्ये दुई/दुर्ई वटा बाँडौँ भन्ने विषयमा कुरा भए पनि त्यतिखेर कुरा मिल्न नसकेको तर हाल आएर सफल भएको बताए ।

उनले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको स्पष्ट पारे ।

उनले भने, ‘विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर नेपालका कम्युनिष्टलाई जनताको अपार समर्थन र विश्वास छ । त्यसलाई मर्न दिनु हुँदैन । विभिन्न धारमा रहेका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याएरमात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ । समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिबद्धतासहित पार्टी एकताको तयारीमा जुटेका छौँ ।’

‘पार्टी एकता कसैले कसैलाई निल्ने विषय होइन, यो त समान उद्देश्यका लागि वैचारिक एकतासहित नयाँ उचाइमा पुग्ने प्रक्रिया हो,’ प्रशिक्षणमा अध्यक्ष दाहालले भने, ‘हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन् । त्यसमा अडिएर एकता हुँदैन । एमाले–माओवादी दुवैले बहसको प्रक्रियाद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हामी आफैँ पनि रुपान्तरणको प्रक्रियामा छौँ । कम्युनिष्ट आन्दोलन र सिङ्गो राष्ट्रलाई रुपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ ।’

‘हाम्रो चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध छैन, नेपालमा वैचारिक धारमा नजिक रहेका पार्टी मिल्दा नै देश र जनताको हित हुन्छ,’ उनले भने। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij