वामपन्थी गठबन्धनमा रहेका दलहरूबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरू हटाउनेछन् । र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धन पार्टीका शीर्ष नेताहरूसँग वान टु वान वार्ता र कानुन व्यवसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्न लागेका हुन् । त्यसका लागि कांग्रेसभित्रबाट पनि प्रधानमन्त्री देउवामाथि दबाब बढेको स्रोतको दाबी छ ।
‘बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीज्यूले माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने भनेर छलफल सुरु गर्नुभएको छ,’ देउवा निकट स्रोतले नागरिकसँग भन्यो, ‘माओवादी मन्त्रीको बर्खास्तीसँगै सरकार पुनर्गठन गरिनेछ । त्यसबारे छलफलसमेत सुरु भइसकेको छ ।’ उनका अनुसार निर्वाचन आचारसंहिताबाहेक अन्य कुनै अडचनले सरकार पुनर्गठन गर्न गाह्रो हुने अवस्था छैन ।
आचारसंहिता लागेकै अवस्थामा यसअघि पनि देउवाले राप्रपा प्रजातान्त्रिकका नेताहरूलाई मन्त्रिमण्डलमा समावेश गराइसकेका छन् । त्यसै नजिरमा टेकेर प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बर्खास्त गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा जुटेको देउवा निकट स्रोतले बतायो ।
हाल कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलसँग २ सय ९९ मतसहित स्पष्ट बहुमत कायम छ । बुधबार गठित लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलमध्ये कांग्रेससँग २ सय ६, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग ३७, राष्ट्रिय जनता पार्टीसँग २४, नेपाल लोकतान्त्रिक फोरमसँग १७ र संघीय समाजवादी फोरमसँग १५ सहित ३ सय मत कायमै रहेको देखिन्छ । त्यसमाथि, गठबन्धनमा आबद्ध नरहे पनि नेकपा संयुक्तको ३ मत पनि देउवा सरकारको पक्षमा कायमै रहेको देखिन्छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीको बर्खास्ती र सरकार पुनर्गठनबारे कुनै सोच नबनाएकोे जिकिर गरेका छन् । ‘माओवादी मन्त्रीको बर्खास्ती र सरकार पुनर्गठन गर्ने तयारी छैन, यो हल्ला मात्रै हो,’ परियारले नागरिकसँग भने ।
संविधानतः सरकार टिकाउनका लागि देउवालाई कम्तीमा २ सय ९७ मतसहितको बहुमत चाहिन्छ, जो हाल प्रधानमन्त्रीसँग कायमै छ ।
स्रोतका अनुसार गठबन्धनमा आबद्ध रहे तापनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र कमल थापा नेतृत्वको राप्रपाको विश्वासको मत लिन देउवाले अझै सकिरहेका छैनन् । दुवै दलले गठबन्धनमा नवस्ने तर सिट संख्यामा भने तालमेल गर्ने जनाएपछि देउवा अलमलमा परेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राप्रपा अध्यक्ष कमल थापासँग भेटवार्ता गर्न पठाएका थिए । ‘माओवादी मन्त्रीलाई बर्खास्त गरेर सरकार पुनर्गठन गर्नेबारे देउवाको प्रस्ताव आएको थियोे,’ राप्रपाका एक केन्द्रीय नेताले भने, ‘मन्त्रालय रोज्न सकिनेदेखि गठबन्धन बनाएर जानेबारेमा मोटामोटी कुराकानी भएको तर प्रधानमन्त्रीसँग नै बसेर अन्तिम निर्णय लिने भन्ने अध्यक्षको जबाफ थियो ।’ उनका अनुसार देउवा गठबन्धनमा बस्ने वा नबस्नेसहित देउवा सरकारलाई समर्थन दिने वा नदिने विषयमा राप्रपाले कुनै निर्णय लिन सकेको छैन ।
‘थापा नेतृत्वको राप्रपा र यादव नेतृत्वको संघीय फोरमका स्पष्ट समर्थन जुटेको भए देउवा बिहीबार नै माओवादी मन्त्री बर्खास्त गर्ने मुडमा पुगिसकेका थिए तर उताबाट ‘ग्रिन सिग्नल’ नपाएपछि देउवा अड्किन पुगेका हुन्’, प्रधानमन्त्री देउवा निकट स्रोतको दाबी छ ।
देउवाले अन्य साना दलसँग पनि वार्ता र संवाद प्रक्रिया भने निरन्तर रूपमा अघि बढाइरहेका छन् । हरिचरण साह नेतृत्वको नेपाली जनता दललगायतका नेतासँग बालुवाटारमा बुधबार राति अबेरसम्म छलफल गरेका प्रधानमन्त्री कम्तीमा ३ सय मत सुरक्षित गर्ने दाउमा छन् ।
त्यसैगरी, माओवादीका मन्त्रीलाई बर्खास्त गर्ने कि नगर्ने भन्ने बारेमा कांग्रेस केन्द्रीय समितिमा शुक्रबार छलफल हुने भएको छ । अजुर्ननरसिंह केसी, गगन थापालगायतका कांग्रेसका नेताहरूले माओवादी मन्त्रीलाई बर्खास्त गरेर सरकार पुनर्गठन गर्न दबाब दिइरहेका छन् ।
सरकार पुनर्गठनबारे छलफल भएकै छैन : कांग्रेस
नेपाली कांग्रेसले सरकार पुनर्गठनका विषयमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय सदस्यसमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस र सरकारको ध्यान मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन कसरी सम्पन्न गर्ने भन्नेमा रहेको दाबी गर्दै सरकार पुनर्गठनको विषयमा कुनै चर्चा नभएको बताएका हुन् । ‘संवैधानिक व्यवस्थाअनुसार माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता छ,’ कार्कीले नागरिकसँग भने, ‘सरकारको ध्यान चुनाव सम्पन्न गर्ने भन्नेमा मात्र केन्द्रित छ । अहिले सरकार गठन र पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री र कांग्रेसको सोच छैन ।’
पार्टी कार्यसम्पादन समितिको बैठकमा सत्ता साझेदार माओवादी केन्द्रलाई सरकारबाट हटाउने विषय प्रवेश नगरेको जिकिर गर्दै उनले भने, ‘बैठकमा सरकारबारे स पनि उच्चारण भएको छैन ।’
चुनाव शान्तिपूर्ण, निष्पक्ष र सबैको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ र पार्टीका पक्षमा कसरी जनमत निर्माण गर्ने भन्ने विषयमा मात्र छलफल भएको मन्त्री कार्कीले बताए । उनले भने, ‘टिकट कसरी वितरण गर्ने र प्रचारमा कसरी जुट्नेलगायतका विषयमा मात्र छलफल र बहस भइरहेका छन् । माओवादीलाई हटाउने कुरा बेकारको हो ।’ नागरिकवाट